भदौ २६ कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्य मन्त्री तथा नेकपा (एमाले) पोलिटब्युरो सदस्य राजेन्द्र रावलले जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक घटना प्रति दुःख व्यक्त गर्दै संयमता अपनाउन सबैलाई अपिल गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुम मार्फत वक्तव्य जारी गर्दै आन्दोलनमा घुसपैठका कारण सरकारी सम्पत्ति, संवैधानिक निकायका पूर्वाधार, राजनीतिक दलका कार्यालय, राष्ट्रिय सम्पदा तथा राजनीतिक नेतृत्वका निजी आवासमा आक्रमण र आगजनी हुनु दुर्भाग्यपूर्ण भएको उनले बताएका छन ।
रावलले आन्दोलनका क्रममा ज्यान गुमाएका सबै जना युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै सयौँ घाइतेको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उनले शोकाकुल परिवार प्रति समवेदना प्रकट गरेका छन् ।
“सार्वजनिक पूर्वाधार र डेटा नियन्त्रण कक्षहरू समेत ध्वस्त पार्ने जघन्य कार्य कसले र कुन प्रयोजनका लागि ग¥यो भन्ने विषयमा उच्चस्तरीय छानबिन अपरिहार्य भएको उनले बताएका छन ।
उनले आपराधिक गतिविधिमा संलग्न बन्दीहरूलाई धमाधम रिहा गरिएको तथ्यप्रति पनि प्रश्न उठाउँदै यसका पछाडिका कारण क्रमशः सार्वजनिक हुने विश्वास व्यक्त गरेका छन् ।
राष्ट्र, राष्ट्रियता, सार्वभौमसत्ता, स्वाभिमान र स्वाधीनताको रक्षा गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य हासिल गर्न सबै अडिग रहनुपर्ने उनले आग्रह गरेका छन् ।


