फागुन १० कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटकलाई पथ प्रदर्शक (नेचर गाइड) निःशुल्क गरिएको छ । शुक्रबार देखि भीमदत्त नगरपालिकाले आयोजना गरेको शुक्लाफाँटा पर्यटन महोत्सवमा महोत्सव अवधिभर निकुञ्ज भ्रमण गर्ने पर्यटकलाई पथ प्रदर्शक (नेचर गाइड) निःशुल्क गरिएको हो ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको स्थापना दिवसको अवसर पारेर शुक्रबार देखि १५ गतेसम्म शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा शुक्लाफाँटा पर्यटन महोत्सव आयोजना गरिएको हो । नगरपालिकाले निकुञ्जमा पर्यटक भित्र्याउन पर्यटन महोत्सव आयोजना गरेको भीमदत्त नगर पर्यटन विकास समितिका संयोजक राजेन्द्र केसीले जानकारी दिए ।
उनले पर्यटकका लागि शुक्लाफाँटा आकर्षक गन्तव्य भएकाले यसको प्रचारप्रसार गर्न महोत्सवको आयोजना गरेको बताए । ‘एक सातासम्म चल्ने महोत्सवमा निकुञ्ज भ्रमण गर्ने पर्यटकलाई निःशुल्क नेचर गाइडको व्यवस्था गरिएको छ,’ उनले भने, ‘पर्यटकलाई प्रोत्साहनस्वरूप पहिलो एक सय गाडी (निजी तथा सफारी) निःशुल्क गरिएको छ ।’ नेचर गाइड र सफारीको शुल्क शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले सहयोग गर्ने व्यवस्था मिलाइएको उनले बताए ।
प्रकृतिसँग रमाउन पर्यटकका लागि शुक्लाफाँटा आकर्षण गन्तव्य रहेकाले यसको प्रचार प्रसारमा जोड दिनुपर्ने पर्यटन व्यवसायीहरूले बताएका छन् । ‘आन्तरिक र बाह्य पर्यटक भित्र्याउनका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्नु आवश्यक भएको होटेल व्यवसायी सङ्घ कञ्चनपुरका अध्यक्ष रामचन्द्र रेग्मीले बताए । ‘स्थानीय स्तरमा निजी क्षेत्रबाट पहल भए पनि बाह्य पर्यटक भित्र्याउन सरकारले पहल गर्नुपर्ने उनले बताए ।
विश्वमै दुर्लभ जीवजन्तु पाइने शुक्लाफाँटाको प्रचार प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यको रूपमा विकास गर्न महोत्सवले सहयोग पुग्ने अपेक्षा गरिएकोे उनले बताए । शुक्लफाँटा राष्ट्रिय निकुञ्जका महानन्द जोशीले शुक्लाफाँटा पर्यटकका लागि आकर्षक गन्तव्य भए पनि प्रचार प्रसार नहुँदा पर्यटकको सङ्ख्या न्यून रहेको बताए ।
‘शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवेशद्वारबाट २४ किमि दूरीमा शुक्लाफाँटाको ठूलो घाँसे मैदान फाँट भएको बताउदै उनले जुन फाँटमा एकैपटक सयौँ बाह्रसिङ्गाको झुन्ड देख्न सकिने बताए । वन्यजन्तु मात्रै नभई दुर्लभ वनस्पतिको लागि पनि प्रसिद्ध ठाउँ भएको उनले जानकारी गराए । उनले निकुञ्जमा ५६ प्रजातिका स्तनधारी जीव, ५६ प्रजातिका घस्रने वन्यजन्तु १५ प्रजातिका उभयचर, ८८ प्रजातिका माछा, १ सय ११ प्रजातिका पुतली निकुञ्ज भित्र रहेको बताए ।
शुक्लाफाँटामा विश्वमै दुर्लभ मानिएको सारस, खर मजुर, सिम तित्रा, राजधनेश र लेसर भुडीफोर जस्ता वन्यजन्तु भएको उनले जानकारी गराए । पाटेबाघ, एकसिङ्गे गैँडा, हात्ती बाह्रसिङ्गा, कृष्णसार, सालक, नीलगाई, चितुवा चितल, लगुना, रतुवा, हिसपीड खरायो, बँदेल आदि रहेको उनले जानकारी गराए ।
तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिङ्गाका लागि प्रसिद्ध मानिने बताउदै उनले निकुञ्जमा दुई हजार दुई सय बढी बाह्रसिङ्गा रहेको बताए । घुम्न आउने पर्यटकले ठूलो सङ्ख्यामा बाह्रसिङ्गाको झुन्ड देख्न पाउँने बताउदै उनले २५ वटा जङ्गली हात्ती, १६ वटा एकसिङ्गे गैँडा, ४२ वटा पाठेबाघ रहेको जानकारी गराए ।
निकुञ्जको विश्वकै सबैभन्दा ठूलो घाँसेमैदान पनि यसको विशेषता भएको जानकारी गराउदै उनले निकुञ्जको १९ प्रतिशत क्षेत्र घाँसेमैदान भएको बताए । जङ्गली हात्ती, पाटेबाघ, चितुवा, बाह्रसिङ्गा, जरायो, चित्तल जस्ता स्तनधारी जनावर निकुञ्जका प्रमुख वन्यजन्तु भएको बताउदै उनले रानी ताल तथा अन्य स–साना तालहरूमा मगर गोहीहरू प्रशस्त पाइने बताए ।
रैथाने र बसाइँ सरी आउने गरी ४ सय ६१ भन्दा बढी चराचुरूङ्गी पाइने गरेको बताउदै उनले शुक्लाफाँटाको क्षेउ पिपरियामा हात्तीसार भएको बताए । त्यहाँ हात्ती चढ्न पाइने बताउदै उनले आगन्तुकको समय अनुसार हात्तीमा जङ्गल सफारीको समेत सुविधा भएको बताए ।
एकसाता सञ्चालन हुने महोत्सवमा निकुञ्ज क्षेत्रमा सरसफाइ, निबन्ध प्रतियोगिता र नेपाल–भारतका पर्यटन व्यवसायी र ट्राभल व्यवसायीसँग अन्तक्र्रिया समेत गरिने उनले जानकारी गराए ।


