पौष २९ धनगढी । सुदूरपश्चिम प्रदेशका तीन वटा जिल्लाबाट प्रहरीले अवैध सामान बरामद गरेको छ । कैलाली, कञ्चनपुर र बैतडीबाट प्रहरीले आइतबार ३ लाख ५४ हजार ४ सय १० रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर– २ सिशापोष्ट नजिक र गोदावरी नगरपालिका वडा नम्बर– ४ बनदेबीबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी १ लाख २१ हजार ६ सय ८० रुपैयाँ बराबरको चिनी, मिस्री, मिठाई, बेसनको पिठो, पानी पुरी, सुट पिस, स्विटर, दोपट्टा, प्लाजु, मेक्सि लगायतका सामानहरू बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
त्यसैगरी कञ्चनपुरबाट २ लाख १२ हजार २ सय ५० रुपैयाँ मूल्य बराबरको चिनी, अचार, खाने तेल, दाल, पिठो, साइकलका सामान, प्लास्टिक झिल्ली, विभिन्न किसिमका कपडा, तराकारी, किरानाका सामान, मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यस्तै बैतडीको दशरथ चन्द नगरपालिका वडा नम्बर– ६ सेरा स्थित महाकाली नदीको किनारबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका २० हजार ४ सय ८० बराबरको २ क्विन्टल चिनी नियन्त्रण गरिएको प्रहरीको भनाइ छ । तीनै जिल्लामा बरामद गरिएको सबै सामान बेवारिसे अवस्थामा भेटिएकोे प्रहरीले जानकारी गराएको छ ।