पौष १३ अछाम । अछामको कमलबजार विमानस्थलमा परीक्षण उडान गरिएको छ । शनिबार निर्माण सुरु भएको ३२ वर्षपछि परीक्षण उडानका गरिएको हो । तत्कालीन विद्रोही माओवादीको आक्रमणमा ध्वस्त भएको विमानस्थलमा तारा एयरलाइन्सका क्याप्टेन टीएस नगरकोटीले परिक्षण उडान भरेका हुन् ।
२०५८ सालमा निर्माण सम्पन्न भई सञ्चालनको तयारीमा रहेको विमानस्थलको रिपिटर टावर ध्वस्त भएपछि परीक्षण उडान समेत भर्न नपाउँदै बन्द भएको थियो । निर्माण सुरु भएको लामो समयसम्म गति लिन नसकेको विमानस्थलमा आर्थिक वर्ष २०८०÷०८१ मा विनियोजित बजेटले विमानस्थलमा ग्राभेल गरिए पछि परीक्षण उडान गरिएकोे हो ।
परीक्षण उडानको तयारी भए पछि एक महिना पहिले विमानस्थलको संस्कृति,पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरीले समेत अनुगमन गरेका थिए । विमानस्थल सञ्चालन हुन नसक्दा स्थानीय बासिन्दाले यसलाई गाईबस्तु चराउने गौचरन, पार्टी कार्यक्रम तथा खेलकुद गतिविधिका लागि प्रयोग गर्दै आएका थिए ।
कमलबजार विमानस्थलको परीक्षण उडान सफल भएपछि यस क्षेत्रको यातायात सुविधा सहज हुने र आर्थिक विकासका लागि नयाँ आयामहरू खुल्ने विश्वास गरिएको छ । विमानस्थल सञ्चालनले अछाम सहित सुदूरपश्चिमको पर्यटन, व्यापार र यातायात क्षेत्रमा फड्को मार्ने अपेक्षा गरिएको छ ।


