पौष ०१ धनगढी । सुदूरपश्चिम प्रदेशमा ८६ दशमलव ५ प्रतिशत घरधुरीमा विद्युतीकरणको काम पुरा भएको छ । नेपाल विद्युत प्राधिकरणले विद्युतीकरणको कामलाई तीव्रता दिएसंगै ८६ दशमलव ५ प्रतिशत घरधुरीमा विद्युतीकरणको काम पुरा भएको हो । प्राधिकरणले विद्युतीकरणको कामलाई पहिलो प्राथमिकतामा राखेर आगामी २ वर्षभित्रै सतप्रतिशत काम पुरा गर्ने गरी फिल्डमा काम भइरहेको जानकारी गराएको छ ।
कैलाली र कञ्चनपुरमा करिब ९९ प्रतिशत घरधुरीमा विद्युतीकरण भइसकेको छ भने पहाडी जिल्लामा तीव्रगतिमा काम भइरहेको प्राधिकरणको जानकारी गराएको छ । प्रदेशमा हाल एक सय ६५ मेगावाट विद्युत उत्पादन हुँदै आएको छ भने सरकारीस्तरबाट ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजना र बाँकी एक सय ३५ मेगावाट निजी क्षेत्रले लगानी गरेको जलविद्युत आयोजनाबाट विद्युत उत्पादन भइरहेको छ ।
प्रदेशमा विद्युत उत्पादन बढेसँगै नेपाल विद्युत प्राधिकरणले विद्युतीकरण गर्ने काममा तीव्रता दिएको छ । कैलाली र कञ्चनपुरसँगै पहाडी जिल्लामा धमाधम विद्युतीकरणको काम भइरहेको नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख जंगबहादुर चन्दले जानकारी गराएका छन । सबैभन्दा बढी कञ्चनपुरमा विद्युतीकरण भएको उनले जानकारी गराएका छन । कञ्चनपुरमा ९९ दशमलव ९८ प्रतिशत विद्युतीकरणको काम पुरा भइसकेको उनले बताए ।
कञ्चनपुर पछि सबैभन्दा बढी कैलालीमा विद्युतीकरण गरिएको जानकारी गराउदै उनले ९९ दशमलव १२ प्रतिशत घरधुरीमा विद्युतीकरण भइसकेको जानकारी गराए । तराईका २ जिल्लासँगै पहाडका ७ वटा जिल्लामा आगामी २ वर्षभित्रै सम्पूर्ण घरधुरीमा विद्युतीकरण भइसक्ने गरी काम भइरहेको उनले जानकारी गराए ।
कुनै पनि घरधुरी नछुटाउने गरी विद्युतीकरणको काम भइरहेको प्रमुख चन्दले जानकारी गराए । अहिलेसम्म डडेल्धुरामा ९१ दशमलव शून्य ३ प्रतिशत, बैतडीमा ५७ दशमलव ६ प्रतिशत, डोटीमा ८० दशमलव ४५ प्रतिशत घरधुरीको विद्युतीकरण भइसकेको चन्दले जानकारी गराए ।
त्यसैगरी अछाममा ६४ दशमलव ४६ प्रतिशत, दार्चुलामा ८९ दशमलव ६४ प्रतिशत, बझाङमा ६६ दशमलव ७४ प्रतिशत र बाजुरामा २९ दशमलव २४ प्रतिशत घरधुरीमा विद्युतीकरण भइसकेको जानकारी गराउदै उनले बाँकी काम आगामी २ वर्षभित्रै सम्पन्न हुने गरी भइरहेको बताए ।


