मंसिर ११ धनगढी । कैलाली भन्सार कार्यालयले प्रथम चौमासिकमा लक्ष्य भेटाउन सकेको छैन । कैलाली भन्सार कार्यालयल चालु आर्थिक वर्ष २०८१्÷८२ को साउन देखि कार्तिक मसान्त सम्म लक्ष्य भेटाउन नसकेको हो । कैलाली भन्सार कार्यालयका सूचना अधिकारी तेजबहादुर रावलले लक्ष्य अनुसारको राजश्व संकलन हुन नसकेको बताए । बजारमा माग भयो भने मालवस्तु आयात हुने बताउदै उनले आयात कम भयो भने राजश्व घट्ने जानकारी गराए । बजारमा माग नभएको अवस्थामा लक्ष्य अनसारको राजश्व संकलन हुन नसकेको बताए ।
राजश्व विगतको तुलनामा कम भएको बताउदै उनले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको राजश्व संकलनको लक्ष्य कम भएको बताए । भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१÷०८२ को प्रथम चौमासिकमा तीन अर्ब ५१ करोड ३३ लाख लक्ष्य लिएकोमा दुई अर्ब ४१ करोड ३८ लाख मात्रै राजश्व संकलन भएको उनले जानकारी गराए । जुन लक्ष्यको ६८.७० प्रतिशत भएको उनले बताए । पहिलो चौमासिकमा संकलित राजश्व वार्षिक लक्ष्यको २१.६२ प्रतिशत भएको उनले बताए ।
कैलाली भन्सार कार्यालयले चालु आर्थिक बर्षमा ११ अर्ब १६ करोड २८ लाख ३० हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको उनले बताए । भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८०÷०८१ को प्रथम चौमासिकमा पनि लक्ष्य अनुसार राजश्व संकलन गर्न नसकेको जानकारी गराए । गत आर्थिक वर्षको प्रथम चौमासिकमा तीन अर्ब ५६ करोड नौ लाख लक्ष्य रहेकोमा दुई अर्ब २३ करोड ३६ लाख मात्रै राजश्व असुली भएको उनले जानकारी गराए ।
चालु आर्थिक वर्षको प्रथम चौमासिकको साउन महिनामा ८२ अर्ब ९४ करोड ६९ लाख लक्ष्य रहेकोमा ५७ अर्ब ५० करोड ७३ लाख मात्रै राजश्व असुली भएको उनले बताए । भदौ महिनामा ९० अर्ब ८३ करोड ८१ लाख लक्ष्य रहेकोमा ५३ अर्ब ८४ करोड ९९ लाख मात्रै राजश्व असुली गरेको उनले बताए । त्यसैगरी असोज महिनामा ८७ अर्ब ६१ करोड ७९ लाख लक्ष्य रहेकोमा ६७ अर्ब २४ करोड ९१ लाख मात्रै राजश्व असुली भएको छ ।
कार्तिक महिनामा ८९ अर्ब ९३ करोड ३३ लाख लक्ष्य रहेकोमा ६२ अर्ब ७८ करोड ३२ लाख मात्रै राजश्व असुली भएको सूचना अधिकारी रावलले जानकारी गराए । उनले चालु आर्थिक वर्षको राजश्व संकलन पनि विगतका वर्षहरुको राजश्व संकलनको जस्तै भएको बताए । चालु आर्थिक बर्षमा केही सुधार भए पनि लक्ष्य पुरा गर्न गाह्रो भएको रावलले जानकारी गराए । विद्युतीय सवारी साधनले गर्दा पेट्रोलियम पदार्थको आयातमा कमी आउँदा राजश्व संकलनमा पनि असर परेको उनले बताए ।
राजश्वको लक्ष्य घटाउनका लागि विभागमा पहल भइरहेको बताउदै उनले भन्सार क्षेत्र भन्दा बाहिरबाट आयात भइरहेकाले त्यसलाई नियन्त्रण गर्नेका लागि गस्ती समेत गरिरहेको जानकारी गराए । उनले खुल्ला सिमानाका कारण राजश्व चुवावट हुँदा पनि लक्ष्य अनुसार राजश्व संकलन हुन नसकिरहेको बताए । चालु आर्थिक बर्षको राजश्व संकलन लक्ष्य गत वर्षको तुलनामा ४१ अर्ब १९ करोड आठ लाख ४० हजार कम भएको उनले जानकारी गराए ।
गत आर्थिक वर्ष ०८०÷८१ मा पनि कुनै महिनामा राजश्व संकलन लक्ष्यमा पुग्न नसकेको उनले बताए । गत आर्थिक वर्ष २०८०÷८१ मा ११ अर्ब ५८ करोड २४ लाख ७० हजार राजश्व संकलनको वार्षिक लक्ष्य रहेकोमा सात अर्ब ९१ करोड ८० लाख ६८ हजार मात्रै राजश्व संकलन भएको उनले जानकारी गराए । जुन लक्ष्य भन्दा झण्डै ३१ दशमलव ६४ प्रतिशत कम अर्थात ६८ दशमलव ३६ प्रतिशत मात्रै राजश्व असुली भएको उनले जानकारी गराए ।


