कार्तिक ३० काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात गर्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् व्यापारको नेपाली इतिहासमा भारतपछि बङ्गलादेश बिजुली निर्यात गर्न लागेको हो ।
प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले क्षेत्रीय विद्युत् व्यापारमा ऐतिहासिक कोशेढुङ्गा कायम हुन लागेको बताउदै भारतको केन्द्रीय विद्युत् नियमन आयोगले नेपालको बिजुली बङ्गलादेश निर्यात गर्न अनुमति दिए पछि प्राधिकरणले विद्युत् निर्यात गर्न लागेको हो ।
विद्युत् व्यापार गर्ने विषयमा गत असोज १७ गते नेपाल, भारत र बङ्गलादेशका उच्च अधिकारीबीच त्रिपक्षीय सम्झौता भएको बताउदै उनले सम्झौतामा नेपालका तर्फबाट प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हस्ताक्षर गरेको जानकारी गराए । सम्झौता अनुसार हरेक वर्षको १५ जुनदेखि १५ नोभेम्बर सम्म विद्युत् बङ्गलादेश निर्यात गरिने छ ।
प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय लाइन मार्फत भारतीय प्रणालीमा बिजुली उपलब्ध गराउने छ । उक्त बिजुली भारतीय नोडल एजेन्सी एनभिभीएनले आफ्नो प्रसारण प्रणाली मार्फत बङ्गलादेश पु¥याउने छ । सहमति अनुसार मुजफ्फपुरबाट भारतीय प्रसारण प्रणाली हुँदै बहरामपुर भेरमारा चार सय केभी प्रसारण लाइन हुँदै नेपाली बिजुली बङ्गलादेश पुग्ने छ ।
प्राधिकरणले प्रतियुनिट आठ रुपैयाँ ६४ पैसामा बिजुली निर्यात गरिने जनाएको छ । प्रवक्ता घोषका अनुसार प्राधिकरणले २५ मेगावाट क्षमताको त्रिशूली र २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली बङ्गलादेश पठाउने छ ।
बङ्गलादेशले सन् २०४० सम्म नेपालबाट नौ हजार मेगावाट बिजुली लैजाने यसअघि नै घोषणा गरिसकेको छ । सरकारले सन् २०३५ सम्म तय गरेको कार्ययोजनामा २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको छ ।
त्यसमा १३ हजार मेगावाट आन्तरिक खपतमा प्रयोग गर्ने र १५ हजार मेगावाट भारत र बङ्गलादेश निर्यात गर्ने रणनीतिक लक्ष्य निर्धारण गरिएको छ । नेपालको बिजुली बङ्गलादेश निर्यात हुनु आफैँमा महत्वपूर्ण र ऐतिहासिक परिघटना भएको प्राधिकरणका प्रवक्ता घोषले बताए । लामो समय देखिको मेहनतको परिणाम हासिल भएको उनले बताए ।


