जेठ २७ धनगढी । धनगढी उप महानगरपालिका वडा नम्बर–३ बोराडाँडीमा भाट भटेनी सुपरमार्केट सञ्चालनमा आएको छ। शुक्रबार देखि भाट भटेनी सुपरमार्केट सञ्चालनमा आएको हो।
देशकै सबैभन्दा ठूलो सुपमार्केटको यो २३औं स्टोर हो। भाट भटेनी सुपरमार्केटको शुक्रबार बिहान भाटभटेनी सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिनबहादुर गुरुङ र उनकी पत्नी सावित्री गुरुङ लगायत सपरिवारले उद्घाटन गरेका हुन्।
देशभर आफ्नो सेवा विस्तार गर्ने अभियानमा रहेको भाटभटेनीले सुुदूरपश्चिम प्रदेशको धनगढीबाट पहिलोपटक सेवा शुभारम्भ गरेको हो। १७ कट्ठा जग्गामा डेढलाख स्क्वायर फिटको भवन निर्माण गरेर बनाइएको सुपरमार्केटमा खाद्यान्न, लत्ताकपडा, विद्युतीय सामान, कस्मेटिक, फर्निचर, खेलौना लगाएत सम्पूर्ण सामानहरु उपलब्ध छन्। त्यसैगरी स्टोरमा रेष्टुरेष्ट, आकर्षक वाटर फाउण्टेन रहेका छन् भने निकट भविष्यमै हाइटेक सिनेमा मल्टिप्लेक्स पनि सूचारु हुने बताइएको छ।
उद्घाटनको अवसरमा ग्रोसरीमा १० प्रतिशत र विद्युतीय सामग्रीमा २० प्रतिशत सम्म छुट रहेको भाटभटेनी सुपर मार्केटका व्यवस्थापक विनोद भट्टराइले बताए। साथै निःशुल्क होम डेलिभरी सुविधा रहेको उनले जानकारी गराएका छन्।


