जेठ २७ काठमाडौं । पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य फेरि बढेको छ। बिहीबार राति १२ बजेबाट लागू हुने गरी सरकारले पेट्रोल लिटरमा ८ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा १२ रूपैयाँ बढाएको हो।
नेपाल आयल निगमद्वारा जारी विज्ञप्ति अनुसार नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल १७८ रूपैयाँ, डिजेल र मट्टीतेल १६५ रूपैयाँ लिटर पर्नेछ।
एलपी ग्यासको भने मूल्य यथावत, एक हजार ८ सय रूपैयाँ नै छ। यस अघि जेठ १९ गते मात्र आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेल लिटरमा दस रूपैयाँ घटाएको थियो।
सरकारले यसपालिको बजेट मार्फत् पेट्रोलियम पदार्थको भाउ घटाउने घोषणा गरेको थियो। त्यसपछि पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर हटाउन अर्थ मन्त्रालयले उद्योग मन्त्रालयलाई निर्देशन दिएको थियो। पेट्रोलियम पदार्थमा पूर्वाधार १० रूपैयाँ पूर्वाधार कर लाग्दै आएको छ। यो हटाउन अर्थले उद्योग मन्त्रालयलाई निर्देशन दिएपछि भाउ कम भएको थियो। हाल मूल्य समायोजन गर्दा घाटा भएको भन्दै निगमले भाउ बढाएको हो।
युक्रेनमा रूसी आक्रमण पछि अन्तर्राष्ट्रिय तेल बजारमा ठूलो प्रभाव परेको छ। कच्चा तेलको मूल्य उकालो लागेसँगै पेट्रोल लगायत इन्धनको भाउ बढेको हो। अर्कातर्फ आयल निगम पहिले देखि घाटामा चलिरहेको थियो। त्यसैले अहिले नेपाली बजारमा इन्धनको भाउ छोटो समयमै धेरै बढिरहेको छ।


