चैत्र १२ धनगढी । कैलालीमा २ हजार ४ सय ५७ जना म्यादी प्रहरीका लागि ११ हजार बढीको आवेदन दिएका
छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले ११ हजार २ सय २२ जनाले म्यादीका लागि आवेदन दिएको जानकारी गराउनु भयो ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सरकारले म्यादी प्रहरी भर्ना गर्न चैत ११ गतेसम्म दरखास्त दिने समय तोकेको थियो । १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेका व्यक्तिले आवेदन दिन सक्ने प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको थियो । फौजदारी अभियोग नलागेको, कुनै राजनीतिक दलको सदस्य नभएको, शारीरिक र मानसिकरुपले तन्दुरुस्त नेपाली नागरिकले आवेदन दिन पाउने भनिएको थियो ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्वसुरक्षाकर्मी, नेपाल बाहिरका सुरक्षा निकायमा काम गरेका र यस अघिका चुनावमा म्यादी प्रहरी बनेकालाई प्राथमिकता दिइने बताइएको छ । त्यसैगरी कञ्चनपुरमा म्यादी प्रहरी भर्नाका लागि झण्डै ६ हजार जनाले आवेदन दिएका
छन् । १४ सय ६९ जना म्यादी प्रहरी माग गरिएको कञ्चनपुरमा ५ हजार ९ सय ३५ जनाले आवदेन दिएको कञ्चनपुर प्रहरीले जनाएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक चक्र शाहले एक हजार ४ सय ६९ म्यादी प्रहरीका लागि ५ हजार ९ सय ३५ जनाले आवदेन दिएको जानकारी गराउनु भयो ।
म्यादी प्रहरीको आवेदन दिनेमा आर्थिक अवस्था कमजोर भएका तथा उच्च शिक्षा पास गरेका युवायुवतीहरुको संख्या बढी रहेको पाइएको उनले बताए । देशभरबाट २ लाख ८० हजार ४ सय ९५ जनाले आवेदन फारम भरेको बताईएको छ ।
बैतडीमा ८ सय १५ जना म्यादी प्रहरीका लागि २ हजार २४ जनाको आवेदन परेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले १ सय २७ जना महिला र १ हजार ८ सय ९७ जना पुरुषले म्यादी प्रहरीमा भर्ना हुनका लागि आवेदन दिएका हुन् ।
आवेदन दिएका मध्ये ८ सय १५ जना छनौट गरिने बताइएको छ । छनौट भएकाहरुलाई एक हप्ताको तालिम दिएर चुनावी सुरक्षाका लागि खटाइने प्रहरी प्रवक्ता खड्काले जानकारी गराउनु भयो ।