बैशाख २८ कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर–१० तिलकेनी स्थित चुरे फेदीको दलित बस्तीका बासिन्दा भरपर्दो विद्युत् सेवा नहँुदा सिँचाइ सुविधाबाट वञ्चित भएका छन् । पर्याप्त विद्युत् प्रसारण नहुँदा बस्तीमा जडान गरिएका ‘बोरिङ’ सञ्चालनमा आउन नसकेका कारण तलकेनीका दलित समुदाय सिँचाइ सुविधाबाट वञ्चित भएका हुन । सिँचाइको अभावमा स्थानीय बासिन्दाको खेतीपाती र पशुपालन व्यवसाय सङ्कटमा परेको छ ।
एक दशक अघि एक दातृ निकायले सिँचाइका लागि बोरिङ जडान गरिदिए पछि स्थानीयले आफ्नै लगानीमा पाँच–छ वटा थप बोरिङ गाडेका भए पनि बस्तीमा ‘थ्रिफेज’ विद्युत् लाइन नहुँदा कुनै पनि बोरिङ सञ्चालनमा आउन नसकेकाले उनीहरुले सिँचाइ सुविधाबाट वञ्चित हुनु परेको हो । सिँचाइ अभावमा धान, गहुँ र मकै जस्ता बालीको उत्पादनले तीन महिना पनि खान नपुग्ने भएपछि अधिकांश भारतीय क्षेत्रमा मजदुरी गर्न बाध्य भएका छन् ।
स्थानीय वसन्ती लुहारले सिँचाइ सुविधा नहुँदा खेतमा घाँसखेती गर्न समेत समस्या भएको बताईन । दूध बेचेर घरखर्च चलाउन भैँसी पाल्ने चाहना भएको बताउदै उनले खेतमा घाँसखेती गर्न नसक्दा त्यो योजना स्थगित गर्नुपरेको बताईन । खेतमा सिँचाइ नहुँदा अन्न पनि राम्ररी नफल्ने बताउदै उनले अहिले परिवार चलाउन श्रीमानले दैनिक मजदुरी गर्ने गरेको बताईन । त्यसैगरी स्थानीय पदम लुहारले पटक–पटक वडा कार्यालय, नगरपालिका र विद्युत् प्राधिकरण सम्म थ्रिफेज लाइन विस्तारको माग गर्दा पनि सुनुवाइ नभएको बताए ।
टुफेज लाइन भए पनि त्यसले घरको बत्तीसमेत राम्रोसँग नबल्ने बताउदै उनले गर्मीमा पङ्खा चलाउन खोज्दा पनि राम्ररी नचल्ने बताए । वर्षौंदेखि समस्या झेलिरहेको बताउदै उनले अहिले सम्म समस्या समाधान हुन नसकेको बताए । बस्तीमा खानेपानीको केही व्यावस्था भए पनि सबै परिवार त्यसको पहुँचमा नभएको समेत उनले बताए । स्थानीय प्रेम कोलीले ३ सय परिवार बसोबास गर्ने उक्त बस्तीमा २ सय मिटर मात्रै पाइपलाइन विस्तार गरिएको बताउदै पानी पनि पर्याप्त नभएको बताए ।
बस्तीका अगुवा गोपाल महरले तिलकेनीको दलित बस्ती नगरपालिका क्षेत्रकै सबैभन्दा पीडित बस्ती भएको बताए । भरपर्दो विद्युत्, सडक स्तरोन्नती तटबन्ध र पुलजस्ता आधारभूत पूर्वाधारको अभाव रहेको बताउदै उनले छिमेकी गाउँसम्म कालोपत्रे सडक पुगेको भए पनि आफ््नो गाउँ पुग्ने सडक स्तरोन्नती नहुँदा वर्षौंदेखि सास्ती खेप्दै आएको बताए । चुरे क्षेत्रबाट बग्ने खहरे खोलाले हरेक वर्ष जग्गा कटान गर्दै आएको बताउदै उनले भू–क्षयका कारण बस्तीका कयौँ परिवार विस्थापनको जोखिममा रहेको बताए ।
हालसम्म प्रभावकारी तटबन्ध निर्माण हुन नसकेको बताउदै उनले खोलामा पुल नहुँदा वर्षात्का बेला एक किलोमिटर दूरीमा पुग्न समेत तीन किलोमिटर घुमेर जानुपर्ने बाध्यता रहेको बताए । बस्तीका धेरै नागरिक अझै नागरिकताको प्रमाणपत्रबाट समेत वञ्चित भएको बताउदै उनले आवश्यक कागजात जुटाउन नसक्दा नागरिकता बनाउन समस्या भएको बताए । विसं २०२६ साल देखि बसोबास गर्दै आए पनि श्रेस्ता कायम हुँदाहुँदै पनि लालपुर्जा प्राप्त गर्न नसकेको उनले जानकारी गराए ।
रोजगारीको अभाव पनि बस्तीको अर्को प्रमुख समस्या भएको ूथानीयले बताएका छन । घर निर्माण, धातुबा वस्तुहरु निर्माण गर्ने, सिलाइकटाइ लगायतका परम्परागत सीप भएका अधिकांश युवा काम नपाउँदा भारतमा सस्तो मजदुरी गर्न बाध्य भएको स्थानीयले बताएका छन । स्थानीइ कैलराम ओडले घरमा बस्दा काम नपाएर भोकै बस्नु पर्ने अवस्था आउने भएकाले मज्दुरी गर्न भारत जान बाध्य भएको बताए ।
बस्तीमा कक्षा ३ सम्म पढाइ हुने विद्यालय भए पनि आवश्यक फर्निचर, स्टेशनरी, कम्प्युटर लगायतका सामग्रीको अभाव रहेको स्थानीय विमला लुहारले बताईन । दलित समुदायको विद्यालय भनेर हेप्ने गरिएको समेत उनले बताईन । बस्तीमा विद्युत्, सिँचाइ, सडक, तटबन्ध, पुल, शिक्षा र नागरिकता जस्ता आधारभूत सेवा सुविधाको तत्काल व्यवस्था गर्न सम्बन्धित निकायसँग स्थानीइ बासिन्दाले माग गर्दे आएको उनले बताईन ।


