बैशाख २८ कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर–३ का हरिकिसन रानाको मृत्यु प्रकरणको रहश्य एक वर्षसम्म पनि नखुलेपछि छानबिनको माग गर्दै प्रदर्शन गरिएको छ । एक वर्षअघि बेलौरी नगरपालिका वडा नम्बर–१० शिवनगरमा मृत भेटिएका रानाको घटनाको छानबिन गर्न माग गर्दै महेन्द्रनगरमा प्रदर्शन गरिएको हो । उक्त घटनाको अहिले सम्म कारण समेत खुल्न सकेको छैन ।
घटनाको छानबिनको माग गर्दै रानाथारु समाज, आदिवासी जनजाति महासंघ लगायत विभिन्न संस्थाले शनिबार संयुक्त प्रदर्शन गरेका हुन् । जिल्ला प्रशासन कार्यालय अगाडीबाट सुरु भएको ¥याली महेन्द्रनगर बजार परिक्रमा गरी मदन चोकमा पुगेर कोणसभा परिणत भएको थियो । ‘रानाथारु सोझा जाति भएकै कारण एक वर्षसम्म न्याय नपाउने अवस्था आएको बताउदै उनीहरुले न्याय कहिले पाउने र कसले दिने भनेर प्रश्न गरेका छन ।
रानाथारु समाजका केन्द्रीय अध्यक्ष कमलसिंह रानाले अहिले सम्म न्याय पाउने आशामै भएको बताउदै प्रहरी प्रशासनले रानाथारुको मौनतालाई कमजोरी ठानेको बताए । सत्यतथ्य बाहिर नआए कडा आन्दोलन गर्ने बताउदै उनले विगतमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले घटनाको अनुसन्धान गरेको निष्कर्ष सार्वजनिक गरिनु पर्ने माग गरेका छन । प्रतिनिधिसभा सदस्य समेत रहेका रानाथारु समाजका पूर्वअध्यक्ष कृपाराम रानाले न्यायको माग गर्दै सडकमा उत्रिनुपर्ने बाध्यता आएको बताए ।
‘हरिकिसन रानाको मृत्यु कसरी भयो ? अहिलेसम्म प्रहरीले भन्न सकेको छैन,‘यसको सत्यतथ्य छानबिन गर्नुपर्छ, अब पनि ढिलाई गर्नु हुँदैन उनले भने । २०८२ वैशाख ९ गते राना बेलौरीको शिवनगरमा बाटो छेउमा आधा जलेको अवस्थामा मृत अश्थामा भेटिएका थिए । सोही बेला देखि आफन्तजनले छानबिन गरी दोषीलाई कारवाही माग गर्दै आएका थिए । राना मृत्युको घटना हत्या, आत्महत्या वा दुर्घटना के हो ? भन्ने विषयमा अहिले पनि प्रहरी अन्यौलमै रहेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी खडकबहादुर खत्रीले अहिलेसम्म ठोस प्रमाण नभेटिएकाले केही भन्न सकिने अवस्था नरहेको बताएका छन । अहिलेसम्म कुनै क्लु नभेटिएको बताउदै प्रहरी उपरिक्षक खत्रीले शंकास्पद व्यक्तिलाई सोधपुछ गर्ने देखि विभिन्न कोणबाट अनुसन्धान भइरहेको बताए । जिल्ला प्रहरी कार्यालयले अनुसन्धानका क्रममा बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको भए पनि अहिले उनलाई छोडेको छ ।


