भदौ ०८ धनगढी । कैलालीको गोदावरीबाट पवित्र जल लिएर भारतको प्रसिद्ध धार्मिकस्थल गोला गोकर्णनाथ तर्फ दोस्रो भव्य सद्भावना डाक कावड यात्रा प्रस्थान गरिएको छ ।
प्रहलाद लोधीको नेतृत्वमा करिब सय जना कावड तीर्थयात्री सहभागी यात्रामा श्रद्धालुहरूले कैलालीको गोदावरीबाट पवित्र जल लिएर भारतको प्रसिद्ध धार्मिकस्थल गोला गोकर्णनाथको यात्रा प्रस्थान गरिएको हो ।
यात्रामा सहभागी कावड तीर्थयात्रीहरूले सुरुमा पंचमुखी बालाजी मन्दिरमा पूजा–आराधना तथा दर्शन गरेका थिए ।
त्यसपछि गोदावरी पुगेर पवित्र जल कावडमा भरेका उनीहरू जल बोकेर दौडिँदै भारतको ‘छोटी काशी’का रूपमा परिचित गोलागोकर्णनाथ पुग्ने र त्यहाँ भगवान् महादेवको जलाभिषेक गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
नेपाल–भारत सीमाबाट पवित्र जल बोकेर अघि बढेको सद्भावना डाक कावड यात्राले दुई देशका नागरिकबीच धार्मिक, सामाजिक तथा सांस्कृतिक सद्भावलाई थप मजबुत बनाउने विश्वास गरिएको भारतीय जनता पार्टी पलियाका नेता रवि गुप्ताले बताएका छन् ।
यात्राले नेपाल र भारतबीचको धार्मिक तथा सामाजिक सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै सीमावर्ती क्षेत्रमा धार्मिक पर्यटन प्रवद्र्धनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।


