बैशाख २३ धनगढी । कैलालीमा औलो र कालाजार नियन्त्रणका लागि विषादी छिट्काउ अभियानलाई तीव्रता दिइएको छ । स्वास्थ्य कार्यालय कैलालीले स्थानीय तहहरूसँग सहकार्यमा जिल्लाभरी अभियान सञ्चालन गर्दै विषादी छिट्काउ अभियानलाई तीव्रता दिएको हो । विशेष गरी तराईका बस्तीमा संक्रमण देखिएकोले बिरामी भेटिएका घर तथा वरिपरिका क्षेत्रमा लक्षित रूपमा विषादी छिट्काइएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म जिल्लाभर ४ हजार ६ सय ९० घरमा विषादी छिट्काइएको छ । यसबाट ९ हजार १ सय ६ जनाले प्रत्यक्ष लाभ पाएका छन् । चालु आर्थिक वर्षको फागुन मसान्त सम्म जिल्लामा १ सय ३३ जनामा औलो पुष्टि भएको छ । अघिल्लो आर्थिक वर्षमा २ सय ३१ र २०८०÷८१ मा १ सय ३५ जनामा संक्रमण देखिएको थियो । कालाजारका मामलामा सन् २०२४ मा ११, २०२५ मा ७ र २०२६ मा हालसम्म १ जना बिरामी फेला परेका छन् ।
स्वास्थ्य कार्यालय कैलालीका सूचना अधिकारी मिन बहादुर धामीका अनुसार दुई वटा पहाडी स्थानीय तह बाहेक अन्य ११ वटा स्थानीय तहमा अभियान सञ्चालन भएको छ । “बिरामी भेटिएका घर तथा वरपरका क्षेत्रमा प्राथमिकताका साथ विषादी छिट्काइएको उनले बताए । स्वास्थ्य कार्यालयका अनुसार साउन, भदौ, चैत, बैसाख र जेठ महिनामा विषादी छिट्काउने काम विशेष रूपमा हुने गरेको छ ।
अभियानसँगै सरसफाइ, पानी जम्न नदिनु, झ्याल–ढोकामा जाली प्रयोग, लामखुट्टे देखि बच्ने उपाय र समुदायमा जनचेतना प्रवद्र्धन कार्यक्रम पनि सञ्चालन भइरहेको छ । सरकारले सन् २०२८ सम्म औलो र २०३० सम्म कालाजार उन्मूलन गर्ने लक्ष्य राखेको छ । कैलालीमा भइरहेको विषादी छिट्काउ अभियानले संक्रमण नियन्त्रणमा सकारात्मक प्रभाव देखाइरहेको भए पनि, पूर्ण नियन्त्रणका लागि निरन्तर निगरानी, प्रभावकारी सरसफाइ र समुदायको सक्रिय सहभागिता आवश्यक रहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।


