जेठ १८ बाजुरा । बाजुरा र हुम्लाको सीमा क्षेत्र लाम्पाटामा भएको सीमा विवाद तथा दोहोरो झडपबारे बुझ्न गृह मन्त्रालयद्वारा गठित जाँचबुझ समितिको टोली लाम्पाटा पुगेर हुम्ला फर्केको छ ।
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विमलराज पौडेल नेतृत्वको टोली लाम्पाटा र च्याचौर पुगेर हुम्ला फर्केको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता प्रहरी निरीक्षक नरेश शाहीले जाँचबुझ टोली आइतबार सिमकोट पुगेको जानकारी गराएका हुन ।
दुई जिल्ला बीच भएको घटनाको स्थलगत यथार्थता बुझ्न आएको टोली घटना भएको क्षेत्र लाम्पाटा, च्याचौर क्षेत्र पुगेर सिमकोट पुगेको उनले बताएका हुन ।
टोलीले सिमकोटमा सीमा क्षेत्रका नागरिक, घटनामा संलग्न व्यक्ति र सीमा जोडिएका क्षेत्रका जनप्रतिनिधि, राजनीतिक दलका नेता र नागरिक अगुवासँग घटनाका बारेमा छलफल गर्ने कार्यक्रम रहेको छ । हुम्लामा छलफल गरेर उक्त टोली घटनाबारे छलफल गर्न बाजुरा आउने जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
गत जेठ २ गते देखि ४ गतेसम्म सीमाको विषयलाई लिएर हुम्ला र बाजुराका नागरिकबीच भएको झडपले उग्रहरुप लिए पछि गृहमन्त्रालयले टोली गठन गरेको थियो । हुमलाको खार्पुनाथ गाउँपालिका वडा नम्बर २ थालीका स्थानीयले लाम्पाटा पुगेर बाजुराका स्थानीयमाथि कुटपपिट गरेका थिए ।
चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले ४० लाख बजेट विनियोजन गरेर हिमाली गाउँपालिका वडा नम्बर–३ लाम्पाटा–च्याचौरमा प्रहरीचौकी निर्माण सुरु गरेपछि विवाद भएको हो ।
सीमा विवादले उग्ररुप लिँदा लाम्पाटामा दुई जिल्लाका स्थानीयबीच झडप हुँदा वडा सदस्य सहित बाजुराका चार जना घाइते भएका थिए । घाइते चारै जनाको हेलिकोप्टरबाट उद्धार गरिएको थियो ।
सोही विवाद समाधान गर्न यही जेठ ११ गते नापी विभागका उपमहानिर्देशक सुशील डङ्गोलको संयोजकत्वमा अध्ययन टोली र नेपाल प्रहरीका एसएसपी विमलराज पौडेलको संयोजकत्वमा छुट्टाछुट्टै समिति गठन गरिएको छ ।


