जेठ १८ डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका वडा नम्बर–५ बाट गत शुक्रबार देखि बेपत्ता सशस्त्र प्रहरी बलका जवान ओमप्रकाश पुनमगर र स्थानीय तीर्थबहादुर थापा मगर मृत अवस्थामा भेटिएका छन । सोमबार उनीहरु मृत अवस्थामा भेटिएका हुन ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख वरुणबहादुर सिंहका अनुसार ५६ वर्षीय थापाको शव परशुराम नगरपालिका वडा नम्बर–५ अन्तर्गत महाकाली नदीको कल्पठ्ठे क्षेत्रमा भेटिएको हो भने सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) परिगाउँमा कार्यरत जवान पुन मगरको शव कञ्चनपुरको ब्रह्मदेवस्थित महाकाली नदी किनारमा भेटिएको हो ।
मामाभान्जा नाता पर्ने दुवै जना बेपत्ता भएपछि महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्युब फेलापरेको थियो । सोही आधारमा नदीमा बगेको हुनसक्ने आशङ्का सहित खोजी अभियान सञ्चालन गरिएको थियो ।
थापाको शव कल्पठ्ठे नजिक महाकाली नदीमा तैरिरहेको अवस्थामा फेला परेको हो भने जवान पुन मगरको शव नदीले बगाएर कञ्चनपुरको ब्रह्मदेव क्षेत्रमा पुर्याएको प्रारम्भिक अनुमान गरिएको
छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


