जेठ १७ डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका वडा नम्बर–५ बाट सशस्त्र प्रहरीका एक जना जवान सहित २ जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार परिगाउँस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) मा कार्यरत प्रहरी जवान ओमप्रकाश पुन मगर र स्थानीय ५६ वर्षीय तीर्थबहादुर थापा मगर बेपत्ता भएका हुन ।
प्रहरीका अनुसार शुक्रबार देखि उनीहरू सम्पर्कविहीन भएका हुन् । बेपत्ता दुवै जना मामा–भान्जा नाता पर्ने बताइएको छ ।
उनीहरूको खोजी कार्य जारी रहेको र हालसम्म सम्पर्क हुन नसकेको प्रहरीले जनाएको छ । महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्युब फेला परेकाले नदीमा बगेको हुन सक्ने आशंका गरिएको छ ।
घटना पछि सुरक्षा निकायले उनीहरूको खोजी कार्यलाई तीव्र बनाएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहले बेपत्ता व्यक्तिहरूको खोजी जारी रहेको जानकारी गराएका छन । उनका अनुसार प्रहरी तथा अन्य सुरक्षा निकाय परिचालन गरी सम्भावित क्षेत्रहरूमा खोजतलास भइरहेको छ ।


