फागुन २५ धनगढी । फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रबाट प्रतिस्पर्धा गरेका १२ जना पूर्वमन्त्री पराजीत भएका छन । फागुन २१ को निर्वाचनमा विभिन्न राजनीतिक दलले १२ जना पूर्वमन्त्रीहरूलाई उम्मेदवार बनाएकोमा सबै जना पराजीत भएका हुन । नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले संघ र प्रदेश सरकारमा मन्त्री भइसकेका व्यक्तिहरुलाई उम्मेदवार वनाएको थियो ।
नेकपाले अछाम क्षेत्र–१ बाट डा. भीमबहादुर रावललाई उम्मेदवार बनाएको थियो । पटक पटक संघीय मन्त्री भइसकेका रावलले यसपटक चुनाव हारेका छन । पूर्वउपप्रधान मन्त्री समेत रहेका रावललाई नेपाली कांग्रेसका उम्मेदवार भरतकुमार स्वारले ५ सय २६ मतले हराएका हुन ।
स्वारले १० हजार ७ सय ५९ मत पाउँदा रावलले १० हजार २ सय ३३ मत पाएका थिए । नेकपाबाटै डोटीमा उम्मेदवार वनेका अर्का ‘हेभीवेट’ सुदूरपश्चिम प्रदेश सरकारका संस्थापक मुख्यमन्त्री त्रिलोचन भट्टले पनि चुनाव हारेका छन । लगातार पाँच वर्ष मुख्यमन्त्री हुने अवसर पाएका भट्टले जम्मा ५ हजार ४ सय १३ मत मात्रै पाएका थिए ।
उक्त क्षेत्रमा नेपाली कांग्रेसका भरतबहादुर खड्का १४ हजार ८ सय ९७ मतसहित विजयी भएका हुन । नेकपाबाटै कैलाली ५ मा उम्मेदवार बनेका संघीय सरकारका पूर्वमन्त्री प्रेमबहादुर आलेले पनि निर्बाचन हारेका छन । २०७० सालको संविधान सभाको निर्वाचन देखि डोटीबाट लगातार जित्दै आएका आलेले यसपटक क्षेत्र परिवर्तन गरेका थिए । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का आनन्द बहादुर चन्दले हराएका हुन ।
पूर्व पर्यटन मन्त्री आले चन्दका प्रमुख प्रतिस्पर्धी पनि हुन सकेनन् । उनले ७ हजार ८ सय ७६ मत प्राप्त गरेका थिए । रास्वपाका चन्दले ३१ हजार ९ सय ५३ मत पाएका थिए । नेकपाबाटै उम्मेदवार बनेकी संघीय सरकारका अर्का पूर्वमन्त्री बिना मगर पनि पराजित भइन् । कञ्चनपुर क्षेत्र नम्बर–१ मा प्रतिस्पर्धा गरेकी पूर्व खानेपानी मन्त्री मगरलाई रास्वपाका जनक सिंह धामीले हराएका हुन । धामीले २४ हजार ३ सय ३२ मत प्राप्त गरी विजयी भएका हुन भने मगरले ११ हजार १ सय १० मत पाएकी थिईन ।
चुनावी प्रतिस्पर्धामा रहेका सुदूरपश्चिम प्रदेश सरकारका अर्का पूर्वमन्त्री प्रकाशबहादुर शाहले निर्बाचन हारेका छन । शाहलाई नेकपाले बाजुराबाट चुनावी मैदानमा उतारेको थियो । उक्त क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरीले १७ हजार १ सय ७३ मत पाई विजयी भएका हुन भने शाहले ३ हजार ३ सय १ मत मात्र पाएर पराजीत भएका थिए । नेकपाबाटै कञ्चनपुर–३ मा उम्मेदवार बनेका प्रदेश पूर्वमन्त्री मानबहादुर सुनार पनि प।ाजीत भएका छन ।
रास्वपाका ज्ञानेन्द्र सिंह महताले २७ हजार १ सय १८ मत प्राप्त गरी जित हासिल गर्दा सुनारले ४ हजार २ सय ८४ मत प्राप्त गरेका थिए । नेकपा (एमाले) बाट कैलाली क्षेत्र–४ मा उम्मेदवार बनेका पूर्वमन्त्री लेखराज भट्ट पनि पराजीत भएका छन । एमाले उपमहासचिव समेत रहेका भट्ट ९ हजार ४ सय ४४ मत पाएर पराजीत भएका हुन । उक्त क्षेत्रबाट रास्वपाका खेमराज कोइराला २८ हजार ५ सय ५६ मतका साथ विजयी भएका हुन । एमालेबाटै बैतडीमा उम्मेदवार बनेका दामोदर भण्डारी सघीय सरकारका पूर्वमन्त्री हुन् ।
उनले पनि निर्बाचन हारेका छन । उक्त क्षेत्रबाट रास्वपाका उम्मेदवार हरिमोहन भण्डारी २२ हजार एक सय ३४ मत पाई विजयी हुँदा पूर्व उद्योगमन्त्री दामोदरले १७ हजार ९१ मत पाएर पराजीत भएका हुन । कैलाली–३ मा प्रतिस्पर्धा गरेका संघीय सरकारका पूर्वमन्त्री गौरीशंकर चौधरीले पनि र्बिाचन हारेका छन । उक्त क्षेत्रबाट रास्वपाका जगतप्रसाद जोशी २० हजार ३ सय ५९ मत पाइ विजयी भएका हुन भने चौधरीले ४ हजार ७ सय ५२ मत पाएका थिए ।
कञ्चनपुर क्षेत्र–१ बाट चुनावी प्रतिस्पर्धामा रहेका प्रदेश सरकारका पूर्वमन्त्री तारा लामा तामाङले पनि यस पटक चुनाव हारेका छन । एमालेबाट उम्मेदवार बनेका तामाङले ८ हजार ८८ मत पाएका थिए । नेपाली कांग्रेसले कञ्चनपुर निर्वाचन क्षेत्र–२ मा उम्मेदवार बनाएका पूर्वमन्त्री नारायण प्रकाश (एनपी) साउदले पनि निर्बाचन हारेका छन । उनलाई रास्वपाका दीपक राज बोहराले फराकिलो मतान्तरले हराएका हुन ।
बोहराले ३३ हजार ९ सय ५२ मत पाउँदा साउदले जम्मा १० हजार ८ सय २७ मत पाएका थिए । कांग्रेसबाटै कैलाली–१ मा प्रतिस्पर्धा गरेका संघीय सरकारका अर्का पूर्वमन्त्री जनकराज चौधरी पनि निर्बाचनमा पराजीत भएका छन । हार बेहोरेका छन । रास्वपाकी कोमल ज्ञवालीले १७ हजार ८ सय २६ मत पाएर विजयी हुँदा चौधरीले १२ हजार ८ सय ६७ मत पाएका थिए । सुदूरपश्चिम प्रदेशबाट १२ जना पूर्वमन्त्रीहरु निर्बाचनमा पराजीत भए पनि दुई जना पूर्वमन्त्रीहरु भने निर्बाचन जित्न सफल भएका छन ।
नेकपा एमालेबाट दार्चुलामा उम्मेदवार भएका संघीय सरकारका पूर्वमन्त्री गणेशबहादुर ठगुन्ना १८ हजार ८ सय ९१ मत पाई विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार धर्मानन्द जोशीले १५ हजार ८ सय ३६ मत पाएका थिए । त्यसैगरी अर्का पूर्वमन्त्री जनकराज गिरीले बाजुराबाट चुनाव जितेका छन् । कांग्रेसबाट उम्मेदवार बनेका गिरी १७ हजार १ सय ७३ मत पाई विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका लालबहादुर थापाले १६ हजार ६ सय ३३ मत पाएका थिए ।


