भदौ २५ बैतडी । बैतडीमा भीरबाट लडेर एक जना किशोरको मृत्यु भएको छ भने एक जना युवक गम्भीर घाइते भएका छन् । सिगास गाउँपालिका वडा नम्बर–९ चौखाम चौपाता घर भएका अन्दाजी १७ वर्षीय अनिल विकको सेकुनाडी भीरबाट लडेर मृत्यु भएको हो ।
बझाङको देउलेकबाट सामान लिएर घर फर्किने क्रममा बुधबार साँझ करिब ७ बजे भीरबाट लडेर करिब डेढ सय मिटर तल खसेका विकको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष कृष्ण धामीले जानकारी गराए ।
उदयदेव माध्यमिक विद्यालय, गन्सुरमा कक्षा १० मा अध्ययनरत विकको कलिलै उमेरमा मृत्यु भएपछि चौखाम गाउँ शोकमा डुबेको छ । त्यसैगरी सिगास गाउँपालिका वडा नम्बर–७, थला निवासी अन्दाजी ३७ वर्षीय उद्धवसिंह धामी भीरबाट लडेर गम्भीर घाइते भएका छन ।
बझाङको देउराबाट सामग्री लिएर घर फर्किने क्रममा बोरीगाउँ नजिकै बाटोमाथिको भीरमा भारी ठोक्किए पछि लडेर सेती नदीको किनारमा पुगेका धामीको धनगढीमा उपचार भइरहेको स्थानीय सूर्यबहादुर बोहराले जानकारी गराए ।


