भदौ २५ धनगढी । टीकापुर उद्योग वाणिज्य संघले व्यापारी–व्यवसायीको सुरक्षाका लागि निःशुल्क दुर्घटना बीमा कार्यक्रम सुरु गरेको छ । व्यवसाय सञ्चालनका क्रममा हुन सक्ने दुर्घटनाबाट आर्थिक जोखिम कम गर्ने उद्देश्यले संघले प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडसँग सम्झौता गरेको हो ।
संघका अध्यक्ष सन्तोष खड्का र इन्स्योरेन्सका शाखा प्रबन्धक प्रकाश रेग्मीबीच भएको सम्झौता अनुसार संघमा दर्ता तथा नवीकरण भएका व्यवसायीले कुनै अतिरिक्त शुल्क नतिरी बीमा सुविधा पाउने छन् । सम्झौता एक वर्षका लागि लागू हुनेछ र आगामी वर्षमा समेत निरन्तरता दिने संघले जनाएको छ ।
बीमा अन्तर्गत दुर्घटनाबाट मृत्यु भएमा बिमांक रकमको शतप्रतिशत, किरिया खर्च बाफत बिमांक रकमको १० प्रतिशत वा १० हजार रुपैयाँसम्म तथा दुर्घटनामा घाइते भई उपचार गर्नुपरेमा १ लाख रुपैयाँसम्म उपचार खर्च उपलब्ध हुनेछ ।
घाइतेको अवस्था अनुसार बीमाबाट थप क्षतिपूर्ति पाउने व्यवस्था समेत गरिएको छ । टीकापुर उद्योग वाणिज्य संघले पहिलोपटक व्यवसायीका लागि यस्तो निःशुल्क दुर्घटना बीमा कार्यक्रम सञ्चालन गरेको हो । अध्यक्ष खड्काले दुर्घटना निम्तिन नपरोस् भन्ने कामना गर्दै अप्रिय घटना भइहालेमा व्यवसायीको आर्थिक भार कम गर्न कार्यक्रमले राहत पु¥याउने बताए ।
“व्यवसायीलाई अप्ठ्यारो पर्दा संघको तर्फबाट केही भए पनि राहत पुगोस् भन्ने उद्देश्यले कार्यक्रम ल्याएको अध्यक्ष खड्काले बताए । इन्स्योरेन्सका शाखा प्रबन्धक रेग्मीले दुर्घटना भएमा आवश्यक कागजात र प्रक्रिया पूरा गरी व्यवसायीले सहज रूपमा बीमा दाबी गर्न सक्ने बताए ।
दाबी प्रक्रियामा अनावश्यक झन्झट नहुने उनले बताएका छन । व्यवसायीलाई सामाजिक सुरक्षासँग जोड्दै दुर्घटनाबाट हुने सम्भावित आर्थिक जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सुरु गरिएको यो कार्यक्रम टीकापुरका व्यापारी–व्यवसायीका लागि महत्वपूर्ण रहेको छ ।


