जेठ १५ काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । उपप्रधान तथा अर्थमन्त्री स्वर्णीम बाग्लेले संघीय संसद्को संयुक्त बैठकमा २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका हुन ।
पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब रहने र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब विनियोजन गरिने उनले बताएका छन । त्यसैगरी राजस्व १४ खर्ब ४ अर्बको रहने उनले बताएका छन् । अनुदानतर्फ ६१ अर्ब ७४ करोड, वैदेशिक ऋणतर्फ २ खर्ब ४७ अर्ब रहने उनले बताएका छन् ।
जसमा आन्तरिक ऋणतर्फबाट ४ खर्ब १० अर्ब र चालुतर्फ १२ खर्ब ७० अर्ब रहने छ । बजेट प्रस्तुत गर्दै उनले आर्थिक सुधार, उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको बताएका छन् । सरकारले आगामी वर्षका लागि चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्थापनतर्फ बजेट विनियोजन गरेको उनले जानकारी गराएका छन ।
बजेटमा कृषि, ऊर्जा, शिक्षा, स्वास्थ्य, पर्यटन, सूचना प्रविधि तथा पूर्वाधार विकासका कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको छ । त्यसैगरी सुशासन प्रवद्र्धन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान तथा निजी क्षेत्रको लगानी प्रोत्साहनलाई पनि बजेटको मुख्य उद्देश्य बनाइएको सरकारले जनाएको छ ।
सरकारले राजस्व परिचालन, वैदेशिक सहायता तथा आन्तरिक ऋणमार्फत बजेटको स्रोत व्यवस्थापन गर्ने लक्ष्य लिएको छ । बजेटमा सामाजिक सुरक्षा कार्यक्रमलाई निरन्तरता दिइएको छ भने रोजगार सिर्जना, उद्यमशीलता विकास र उत्पादनमुखी क्षेत्रलाई सहुलियत दिने कार्यक्रम समावेश गरिएको छ ।
त्यसैगरी, शिक्षा र स्वास्थ्य क्षेत्रमा पहुँच तथा गुणस्तर सुधार गर्ने, सडक तथा ऊर्जा पूर्वाधार विस्तार गर्ने र डिजिटल अर्थतन्त्रलाई प्रवद्र्धन गर्ने योजना पनि बजेटमा समेटिएको छ । अर्थमन्त्रीले आर्थिक अनुशासन कायम गर्दै विकास निर्माणका कामलाई प्रभावकारी बनाइने बताएका छन् । सरकारले आगामी आर्थिक वर्षमा आर्थिक वृद्धि र स्थायित्व हासिल गर्ने लक्ष्य राखेको जानकारी गराईएको छ ।


