मंसिर ०५ बाजुरा । बाजुरामा चिसो बढेसँगै हिमाली क्षेत्रका विद्यालयमा पढाइ प्रभावित हुदै गएको छ । उच्च हिमाली क्षेत्रमा कात्तिक महिनामा हिमपात भएपछि चिसो बढ्दै गएकाले विद्यालयमा पढाइ प्रभावित हुदै गएको हो ।
हिउँद सुरु भएसँगै चिसो धेरै हुने र चिसोमा विद्यालयको पोशाकमा आएर कक्षा कोठामा पढ्न बस्न निकै समस्या हुने गरेकाले पढाई प्रभावित हुदै गएको बडीमालिका नगरपालिका वडा नम्बर–४ रिलाको पाथरकोट आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययनरत छात्र रिजन नाथले बताए ।
घाम लागेको समय बाहिर तातोमा बस्ने र बादल लागेको बेला कक्षा कोठामा बस्दा निकै चिसो हुने गरेपछि बाक्लो लुगामा आउन पर्ने अवस्था आएको उनले बताए । आफुसँग घरमा राम्रो लुगा नभएकाले हिउँदको महिना कक्षा कोठामा बसेर पढ्न निकै समस्या हुने गरेको नाथले बताए ।
त्यसैगरी पाथरकोट आधारभूत विद्यालयका शिक्षक कमल नाथले बाजुरामा कात्तिक महिना सुरु हुने वित्तिकै विभिन्न ठाउँमा चिसो सुरु हुने बताउदै चिसोमा अधिकांश विद्यालयका बालबालिकाहरुलाई कक्षा कोठामा राखेर पढाउन निकै समस्या हुने गरेको बताए ।
अहिले ४४ जना छात्र र ४९ जना छात्रा गरी जम्मा ९३ जना बालबालिकाहरु पढ्ने गरेको बताउदै उनले यी मध्यकै अधिकांश बालबालिकाहरु प्राय गरिब दलित तथा आर्थिक अवस्था कमजोर भएका परिवारका भएको बताए ।
धेरै विद्यालयमा चिसोको बेला बालबालिकाहरुलाई न्यानो कपडा वितरण गर्ने गरिए पनि विद्यालयमा कोही नआएको उनले बताए । कतैदेखि न्यानो कपडा पाइएको भए उनीहरुलाई चिसोमा न्यानो लुगा लगाएर विद्यालयमा आएर पढ्न सहज हुने उनले बताए ।
बर्खाको समय तातो हुने गरेकाले कक्षा कोठामा पढाउने गरेको बताउदै उनले यती बेला धेरै चिसो हुने गरेकाले बालबालिकाहरुलाई बाहिर घाममा पढाउने गरेको नाथले बताए ।
हिमाली, जगनाथ, स्वामिकार्तिक खापर, बुढीनन्दा, बडिमालिका लगायतका क्षेत्रमा चिसो धेरै हुने बताउदै उनले गौमुल, खप्तड छेडेदह, त्रिवेणी र बुढीगङ्गा नगरपालिका लगायतका ठाउँमा चिसो कम हुने बताए ।
सरकारले बालबालिकाहरुलाई विद्यालय आउँदा अनिवार्य विद्यालयको पोशाकमा आउनु पर्ने भने पनि उक्त क्षेत्रमा निकै चिसो हुने गरेकाले बालबालिकाहरुले भित्रमा विद्यालयको पोशाक र बाहिर अन्य कपडा लगाएर आउ नेगरेको उनले बताए ।
त्यसैगरी शिक्षा विकास तथा समन्वय एकाइ बाजुराका सूचना अधिकारी लालबहादुर विष्टले कक्षा एक देखि तीन सम्म २ सय २८, चार देखि पाँच सम्म १ सय ७६, छ देखि आठ सम्म १ सय १२, नौ देखि १० सम्म ६७, एघार देखि १२ सम्म २९ र चार वटा क्याम्पस गरी ६ सय १६ वटा विद्यालय सञ्चालनमा रहेको जानकारी गराए ।


