कार्तिक १२ डडेल्धुरा । डडेल्धुरा कारागारमा गत भदौ महिनामा भएको आगजनी र तोडफोड पश्चात् भागेका ८५ जना कैदीबन्दी मध्ये अहिले पनि पाँच जना अझै फरार रहेका छन् ।
कारागारका प्रशासक सन्तोष कुमार भट्टका अनुसार हालसम्म ८० जना कैदीबन्दी पक्राउ गरी सकिएको छ भने बाँकी पाँच जनाको खोजी कार्य जारी रहेको छ ।
भदौ २५ गते बिहान ‘जेनजी आन्दोलन’का क्रममा कैदीबन्दीहरूले आफ्ना सरसामानमा आगो लगाई कारागारको ढोका फोडेर सामूहिक रूपमा फरार भएका थिए ।
त्यसपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले देशका विभिन्न स्थानबाट धेरैजना फरार कैदीलाई पक्राउ गरेको थियो । १ सय २७ जना कैदीबन्दी रहेको उक्त कारागारबाट ८५ जना भागेका थिए ।
अहिले कारागारमा १ सय २२ जना कैदीबन्दी पुनः राखिएका छन ्। फरार पाँच जना मध्ये चार जना जबरजस्ती करणी सम्बन्धी र एक जना कर्तव्य ज्यान मुद्दाका कैदी हुन् ।
जबरजस्ती करणी मुद्दाका दुई जनाको ठेगाना बैतडी, एक–एक जनाको डडेल्धुरा र डोटी रहेको बताइएको छ । कर्तव्य ज्यान मुद्दाका फरार कैदी डडेल्धुराको परशुराम नगरपालिका वडा नम्बर–५ का हुन् ।
त्यसैगरी, हाडनाता जबरजस्ती करणी मुद्दाका फरार कैदी डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नम्बर–४ का रहेका छन् भने अन्य फरारहरू बैतडीको पाटन नगरपालिका वडा नम्बर–८, सिगास गाउँपालिका वडा नम्बर–७ र डोटीको जोरायल गाउँपालिका वडा नम्बर–१ का हुन् ।
कारागार प्रशासनले फरार कैदीहरूको खोजी कार्य निरन्तर जारी रहेको बताएको छ ।


