साउन १८ धनगढी । थारू समुदायका अगुवाले अट्वारी पर्वको बिदाको मिति सच्याउन माग गरेका छन् । अट्वारी पर्वको अवसरमा प्रदेश सरकारले गलत तिथिमा बिदा दिएको भन्दै उनीहरूले मिति सच्याउन माग गरेका हुन ।
थारू समुदायले यसवर्षको अट्वारी भदौ ८ गते मनाउने भए पनि प्रदेश सरकारले अट्वारी पर्वको अवसरमा साउन २५ गते नै प्रदेशमा सार्वजनिक बिदा दिएको छ ।
प्रदेश सरकारले गत चैत २२ गते २०८२ सालमा परेका पर्वको सार्वजनिक बिदा सम्बन्धी सूचना प्रदेश राजपत्रमा प्रकाशित गरेको थियो । अट्वारी बिदाको तिथि फरक परे पनि अहिलेसम्म सच्याइएको छैन ।
कञ्चनपुरको बेलौरी नगर भलमनसा समितिले भदौ ८ गते आइतबारका दिन अट्वारी पर्वको सार्वजनिक बिदा कायम गर्न प्रदेश सरकारलाई अनुरोध गरेको छ ।
थारू समुदायले मनाउने अट्वारी पर्व श्री कृष्ण जन्माष्टमी पछि पर्ने शुक्लपक्षको पहिलो आइतबार परेकाले अट्वारी पर्वको मिति सच्याएर भदौ ८ गते कायम गर्नुपर्ने समितिका अध्यक्ष अमरसिंह चौधरीले बताए ।
थारू समुदायले मनाउने अस्टिम्की पर्व यस वर्ष साउन ३१ गते परेको छ । अस्टिम्की पछि मात्रै आफ्नो समुदायले अट्वारी पर्व मनाउने गरेको थारू साहित्यकार डा. कृष्णराज सर्वहारीले बताए ।
अट्वारीको सार्वजनिक बिदा कायमका लागि मिति तय गर्न प्रदेशको आर्थिक मामिला तथा कानुन मन्त्रालयले कैलाली र कञ्चनपुरका थारू कल्याणकारिणी सभालाई पत्र पठाएको थियो ।
दुवै जिल्लाको थारू कल्याणकारिणी सभाले गरेको सिफारिसको आधारमा मन्त्रिपरिषद्ले निर्णय गरेपछि साउन २५ गते बिदा कायम गरिएको मन्त्रालयका उपसचिव एवम् प्रवक्ता आमोद दाहालले बताए ।
यद्यपि, मिति फरक परेको भन्दै दुवै जिल्लाबाट बिदाको मिति संशोधनका लागि पुनः मन्त्रालयमा निवेदन आइसकेको उनले बताए ।
‘त्रुटि सच्याइ पाउँ भनेर निवेदन आएको छ’, प्रवक्ता दाहालले भने ‘मन्त्री ज्यूले बिदा संशोधन सम्बन्धी प्रस्ताव मन्त्रीपरिषदमा लैजाने निर्णय गरी सक्नुभएको छ । मन्त्रिपरिषद्ले निर्णय गरेपछि संशोधित मिति राजपत्रमा प्रकाशित हुने दाहलले बताए ।


