मंसिर २१ धनगढी । कैलाली उद्योग बाणीज्य संघद्वारा आयोजीत सुदूरपश्चिम महोत्सव भोलिदेखि सुरु हुने भएको छ । कैलाली उद्योग वाणिज्य संघले सुदूरपश्चिम महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराउदै भोली देखि महोत्सव सुरु हुने जानकारी गराएको हो । शुक्रवार पत्रकार सम्मेलन गर्दै उद्योग वाणिज्य संघले प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने १७ औं संस्करण सुदूरपश्चिम महोत्सवको तयारी पूरा भएको जानकारी गराएको हो ।
सदा झै यस वर्ष पनि सुदूरपश्चिम महोत्सव मंसिर २२ देखि पुस २ गतेसम्म चल्ने बताईएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलमा शुक्रवार साढे १२ बजेको समयमा महोत्सव उद्घाटन हुने आयोजक कैलाली उद्योग वाणिज्य संघले जानकारी गराएको छ । यस वर्ष महोत्सवमा ३ करोड लगानी भएको र १० करोड बराबरको कारोबार हुने अनुमान गरिएको बताईएको छ ।
महोत्सवमा करिब ६ लाख ५० हजार व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको उद्योग वाणिज्य संघले जानकारी गराएको छ । महोत्सवमा सुदूरपश्चिमका परिकार सहितका स्थलमा खानाको स्टल रहने, चौधरी र राना समुदायको संस्कृति जगेर्नाका लागि संग्राहालय सहितको अलग थारू गाउँ निर्माण गरिएको बताइएको छ ।
महोत्सव अवलोकनको लागि यस वर्ष विद्यार्थीलाई ५० रुपैयाँ र सर्वसाधारणलाई एक सय रुपैयाँ टिकट लाग्ने छ भने फरक क्षमता भएका व्यक्तिलाई निःशुल्क जान दिने व्यवस्था मिलाइएको बताईएको छ । महोत्सवको उद्घाटन पूर्व शुक्रवार बिहान ८ बजे सहिद गेटबाट प्रभातफेरी कार्यक्रम हुने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।


