साउन १८ कञ्चनपुर । कञ्चनपुरमा एक वर्षर्को अवधिमा ३ करोड बढीको अवैध सामान बरामद गरीएको छ । सशस्त्र प्रहरी बल, नेपाल ३५ नम्बर शैलेश्वरी गणका अनुसार गत आर्थिक वर्ष २०७९÷८० मा उक्त मूल्य बराबरको अवैध सामान बरामद गरीएको हो ।
सशस्त्र प्रहरीले साउन महिनाको अहिले सम्म भन्सार चोरी–तस्करीको ३० लाख भन्दा बढीको अवैध सामान नियन्त्रण गरेर कञ्चनपुर भन्सार चलान गरेको जानकारी गराएको छ । कञ्चनपुरका विभिन्न खुला नाकासहित भन्सारबाटै भन्सार छली गरेर नेपाल भित्र्याइएका अवैध सामान बरामद गरेर सशस्त्र प्रहरीले भन्सारलाई बुझाउन थाले पछि भन्सार राजस्व चुहावट कम भएको बताईएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल ३५ नम्बर शैलेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेमबहादुर रावलले गण सहित मातहत रहेका बोर्डर आउटपोस्ट (बिओपी) मार्फत भारतबाट चोरी–तस्करी गरेर ल्याएका अवैध सामान बरामद गरेर भन्सार चलान गरिएको बताए ।
भारतबाट भन्सार नकाटेका लत्ताकपडा, हार्डवेयर खेलौना सामग्री, इलेक्ट्रोनिक सामान, मलखाद, वनपैदावार, प्रतिबन्धित माछा, कुखुरा सहित तस्करी गर्न प्रयोग भएका मोटरसाइकल, जिप सहितका साधन नियन्त्रणमा लिएर भन्सार चलान गरिएको उनले जानकारी गराए ।


