भदौ १९ धनगढी । सुदूरपश्चिमको प्रमुख मौलिक पर्व गौरा धुमधामका साथ मनाइएको छ । गौरा पर्व अन्तर्गत अठ्यावालीका दिन व्रतालु महिलाहरूले गौरा घरमा भित्र्याइएको गौरालाई गौरा खलामा लगेर विधिपूर्वक पूजाआजा गरी मनाएका हुन ।
अठ्यावालीका दिन बिरुडा पञ्चमीमा भिजाइएको बिरुडाले गौरादेवीको पूजा गर्ने परम्परा छ । व्रतालु महिलाहरूले भगवान् गौरा–महेश्वरमा आधारित सगुन तथा फाग गाउँदै गौरादेवीको पूजा गरेका थिए । फाग मार्फत गौराको उत्पत्ति, महेश्वरसँगको विवाह लगायत धार्मिक तथा पौराणिक प्रसङ्ग समेत प्रस्तुत गर्ने परम्परा रहेको छ ।
पूजाआजा सम्पन्न भएपछि मुख्य प्रसादका रूपमा रहेको बिरुडाले श्रीमान्, छोराछोरी तथा आफन्तजनको टाउको पुज्दै चिरायु र दीर्घायुको कामना गर्ने गरिन्छ । महिलाहरूले अटल सौभाग्य, समृद्धि, सन्तान तथा परिवारमा सुख–शान्तिको कामना गर्दै व्रत बसेर गौरादेवीको पूजा गर्ने धार्मिक मान्यता रहेको छ ।
गौरा पर्वका अवसरमा पुरुषहरूले ठाडो खेल, ढुस्को र धमारी लगायत देवीदेवताका गाथा तथा ऐतिहासिक संस्कृतिमा आधारित खेल प्रस्तुत गरेका थिए । विभिन्न स्थानमा सामूहिक रूपमा देउडा खेल समेत खेलेर पर्व मनाइएको छ ।
सुदूरपश्चिमेली समुदायमा गौरा पर्वलाई दसैँभन्दा पनि बढी महत्त्वका साथ मनाउने परम्परा रहेको छ । रोजगारी तथा अध्ययनका लागि विभिन्न ठाउँमा रहेका सुदूरपश्चिमेलीहरू पर्व मनाउन घर फर्किने गर्छन् । विवाहित चेलीहरू माइतीघर आउने भएकाले गौरा पर्वलाई पारिवारिक पुनर्मिलनको पर्वका रूपमा समेत लिइन्छ ।
गौरा पर्वको सुरुवात पञ्चमी तिथिमा बिरुडा भिजाएर गर्ने परम्परा छ । यस दिन मास, गहत, गुरुस, केराउ र गहुँलगायत पाँच प्रकारका गेडागुडी तथा अन्न मिसाएर बिरुडा भिजाउने गरिन्छ । षष्ठीका दिन भिजाइएको बिरुडा धोएर सफा गर्ने चलन छ ।
उक्त दिनलाई स्थानीय रूपमा ‘नानी गौरा’ भन्ने गरिन्छ । सप्तमी तिथिमा गौरा भित्र्याउने परम्परा छ । यसलाई स्थानीय भाषामा ‘भितरीकी गौरा’ अर्थात् ‘ठुली गौरा’ भन्ने गरिन्छ । यस दिन व्रतालु महिलाहरू बिहानै नुहाइधुवाइ गरी साँझपख विधिपूर्वक गौरालाई गौरा घरमा भित्र्याउने गर्छन् ।
गौरा पर्वको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा समेत दिएको थियो । सुदूरपश्चिमका केही स्थानीय तहले भने ठुली गौराका लागि अघिल्लो दिन नै स्थानीय बिदा दिएका थिए ।
सुदूरपश्चिमका पहाडी जिल्लामा परम्परागत रूपमा विशेष उल्लासका साथ मनाइँदै आएको गौरा पर्व पछिल्लो समय बसाइँसराइसँगै कैलाली, कञ्चनपुर लगायत तराईका जिल्लामा समेत मनाउन थालिएको छ ।
तराईमा बसोबास गर्ने धेरै सुदूरपश्चिमेली भने गौरा मनाउन अझै पनि आफ्नो पुख्र्यौली गाउँ तथा पहाडी जिल्लातर्फ जाने गर्छन् । गौरा पर्वका धार्मिक विधि पूरा भएपछि नवमी तथा त्यसपछिका दिनमा स्थानीय परम्परा अनुसार गौरा सेलाउने वा विसर्जन गर्ने गरिन्छ
टाढा रहेका आफन्त तथा परिवारका सदस्य समेत घर फर्किने भएकाले यस पर्वले पारिवारिक सम्बन्धलाई थप बलियो बनाउने अवसर प्रदान गर्दै आएको छ ।
धार्मिक आस्था, पारिवारिक सम्बन्ध, सामाजिक सद्भाव र सुदूरपश्चिमको मौलिक देउडा संस्कृतिसँग जोडिएको गौरा पर्व यहाँको कला, संस्कृति र परम्पराको संरक्षण तथा पुस्तान्तरणका लागि महत्वपूर्ण पर्वका रूपमा रहँदै आएको छ ।


