असार १२ धनगढी । कैलालीको धनगढीमा होटल व्यावसायी तथा आतिथ्य क्षेत्रमा कार्यरत जनशक्तिको सेवा दक्षता अभिवृद्धि गर्ने उद्देश्यले दुई दिने ‘हस्पिटालिटी एन्ड हाइजिन’ तालिम सुरु भएको छ । नेपाल पर्यटन बोर्डको आयोजना, होटल व्यवसायी महासंघ नेपालको समन्वय तथा होटल व्यवसायी संघ कैलालीको सहकार्यमा दुई दिने ‘हस्पिटालिटी एन्ड हाइजिन’ तालिम सुरु भएको हो । तालिम असार १२ र १३ गते दुई दिन धनगढीस्थित आफ्नो घर टेम्पल रिसोर्टमा सञ्चालन हुने भएको छ ।
तालिममा होटल व्यावसायमा ग्राहकको स्वागत, आतिथ्य सेवा, सेवा प्रवाहको व्यावसायिक शैली, भान्सा व्यावस्थापन, खाद्य सुरक्षा तथा होटलको सरसफाइ र स्वच्छता सम्बन्धी विषयमा विज्ञ प्रशिक्षकहरूले प्रशिक्षण दिइरहेका छन् । आयोजकका अनुसार तालिमले सुदूरपश्चिमको पर्यटन प्रवद्र्धनसँगै होटल सेवाको गुणस्तर अभिवृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा होटल व्यावसायी संघका निवर्तमान अध्यक्ष कमल बमले होटल व्यवसाय मुलुकको आर्थिक समृद्धिको महत्वपूर्ण आधार भएको बताउर्दैै गुणस्तरीय सेवा नै व्यावसायको सफलताको प्रमुख आधार भएको बताए । होटलमा आउने पाहुनालाई उत्कृष्ट सेवा र आतिथ्य प्रदान गर्न व्यावसायीहरू सदैव प्रतिबद्ध हुनुपर्ने उनले बताए ।
कार्यक्रमका अध्यक्ष तथा होटल व्यावसायी संघ कैलालीका अध्यक्ष केशवदत्त पाण्डेयले नेपाल पर्यटन बोर्डले सञ्चालन गरेको तालिमबाट अधिकतम लाभ लिन व्यावसायीलाई आग्रह गरेका छन । धनगढीलाई पर्यटनमैत्री शहरका रूपमा विकास गर्न रातिसम्म पर्यटकीय गतिविधि सञ्चालन हुने वातावरण आवश्यक रहेको उनले बताए ।
साथै, व्यावसायको नाममा हुने अनैतिक गतिविधि नियन्त्रण गरी कानुनी दायरामा ल्याउनु पर्ने उनले बताए । आन्तरिक राजस्व कार्यालय धनगढीका प्रमुख भीमप्रसाद काफ्लेले नेपालको पर्यटन विकासमा होटल व्यावसायीको भूमिका महत्वपूर्ण रहेको बताउदै तालिमले सेवा गुणस्तर अझ प्रभावकारी बनाउन सहयोग पुग्ने बताए ।
सरकारले कर प्रणालीमा व्यावसायीलाई विभिन्न सहुलियत प्रदान गरेको बताउदै उनले समयमै कर तिर्न, श्रमिकमैत्री वातावरण बनाउन तथा कानुनको पालना गर्न व्यावसायीहरुलाई उनले आग्रह गरे ।
कार्यक्रममा कैलाली भन्सार कार्यालयका प्रमुख अनन्त तिमिल्सेना, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख हरिराम प्रधान, होटल व्यावसायी महासंघ नेपालका उपाध्यक्ष धना चोखाल, होटल संघ नेपाल सुदूरपश्चिम प्रदेशका अध्यक्ष दिनेशराज भण्डारी, नाटा सुदूरपश्चिम प्रदेशका अध्यक्ष पदमविक्रम सिंह, नेपाल पत्रकार महासंघ सुदूरपश्चिमका महासचिव शिवराज भट्ट, नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवा, पूर्व सचिव भरत भूषा, होटल व्यावसायी संघ गोदावरीका अध्यक्ष लक्ष्मण धामी, होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष रामचन्द्र रेग्मी, वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक बलराम पाण्डे लगायतको उपस्थिति रहेको थियो ।
तालिममा प्रशिक्षक भूपाल खतिवडा, महेन्द्र जोशी र महेश कुमार बोहराले सहजीकरण गरिरहेका छन् । कार्यक्रममा होटल व्यवसायी संघ कैलालीका वरिष्ठ उपाध्यक्ष अबेश कुमार चन्द्रले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन महासचिव प्रजापति जोशी (प्रकाश)ले गरेका थिए ।


