फागुन १७ धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फागुन २१ गतेभित्र विश्वासको मत लिने तयारी गरीरहेका छन । मन्त्रालय बाँडफाँडको टुंगो नलाग्दा नेकपा माओेवादी केन्द्र सहमत हुन नसकेको बताईएको छ । गठबन्धनमा रहेका अन्य दल विश्वासको मत दिन तयार भए पनि माओवादी केन्द्रले पहिले शक्ति बाडफाँटमा सहमति हुनुपर्ने अडान राखेको बताइएको छ । मुख्यमन्त्री शाहले माओवादीलाई सहमत गराउन छलफल गरिरहेको बुझिएको छ ।
उनले माओवादीलाई सहमतिमा ल्याएर फागुन २१ गतेभित्र विश्वासको मत लिने तयारी गरीरहको बताईएको छ । विश्वासको मत लिन नसके पछि एमालेका राजेन्द्रसिंह रावलको सरकार गत माघ २६ गते ढलेसँगै ठूलो दलको संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका कांग्रेसका कमलबहादुर शाहले फागुन २६ गतेभित्र विश्वासको मत लिइसक्नु पर्नेछ ।
शाहलाई विश्वासको मत दिन गठबन्धनमा रहेका कांग्रेस, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी तयार भएका छन् । यसअघि एमालेका मुख्यमन्त्रीलाई विश्वासको मत नदिएको नागरिक उन्मुक्ति यस पटक कांग्रेसलाई भने विश्वासको मत दिन तयार रहेको स्रोतले बताएको छ ।
माओवादी केन्द्रले भने शीर्ष नेतृत्वको निर्णय पर्खेको बताईएको छ । एमाले नेतृत्वमा बनेको सरकारमा विनाविभागीय मन्त्री रहिसकेका माओवादी केन्द्रका संसदीय दलका नेता खगराज भट्टले शीर्ष तहमा शक्ति बाँडफाँटको विषय टुंग्याएर मात्रै सरकारमा सहभागी हुने बताए ।
शीर्ष नेतासँग छलफल गर्न काठमाडौँमा रहेका भट्टले २१ गतेभित्रै प्रदेश सरकारले विश्वासको मत लिने बताएका छन् । प्याकेजमै सहमति गरेर विश्वासको मत दिने र पार्टी सरकारमा पनि सहभागी हुने उनले बताए । महत्त्वपूर्ण मन्त्रालय सहित सरकारमा सहभागी हुने र साढे दुई वर्षपछि सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व आफ्नो पार्टीले पाउनुपर्ने उनले बताएका छन ।


