दार्चुला – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले देश विकासका लागि सबै राजनीतिक दल एकजुट हुनु आग्रह गर्नु भएको छ । शनिबार दार्चुला सदरमुकाममा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिडेट शाखा कार्यालयको उद्घाटन गर्दै उनले यस्तो आग्रह गर्नु भएको हो । दार्चुला जिल्ला भौगोलिक रुपमा संवेदनशील भएको बताउदै मन्त्री बडूले स्थानीय जनप्रतिनिधिको हिसावले आफू र सिंगो सरकार विकासका लागी गम्भीर भएको बताउनु भयो ।
२०५० देखि २०६२ साल सम्म सञ्चालनमा रहेको २०६३ साल देखि बन्द भएको कम्पनिको शाखा कार्यालय पुनः सञ्चालनमा ल्याउने कुरा आफैमा महत्वपूर्ण विषय भएको बताउदैै मन्त्री बडूले कार्यालयको स्थापना पछि खाद्य आपूर्ति मात्र नभई यस क्षेत्रको उत्पादनलाई बजारिकरण गर्न समेत महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो ।
मन्त्री बडुले साविकका ५ वटा स्थानमा डिपो र वितरण केन्द्र मार्फत सहुलियत मूल्यमा खाद्यान्न वितरण हुँदै आएकोमा आफू मन्त्रालयको जिम्मेवारीमा आए पछि थप ७ वटा स्थानमा डिपो स्थापना गरिएको जानकारी गराउनु भयो । त्यसैगरी मन्त्री बडुले दार्चुला र भारतलाई जोड्न महाकाली नदिमा मोटरेबल पुल बनाउन टेन्डर आह्वान भइसकेको र महाकाली करिडोर निर्माणका लागि नेपाली सेनाले आवश्यक काम गरिरहेकोले यी दुबै काम सम्पन्न भएमा दार्चुलाको व्यापार तथा समग्र विकासमा अभूतपूर्व उपलब्धि हासिल हुने बताउनु भयो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहन प्रकाश चन्दको अध्यक्षतामा भएको कार्यक्रममा कम्पनिका सञ्चालक समिति सदस्य श्याम भट्ट, दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, महाकाली नगर प्रमुख नर सिंह चैसिर, मार्मा गाउँपालिका अध्यक्ष जमन सिंह धामी, नेपाली काँग्रेसका जिल्ला सभापति ललित सिंह बोहरा, नेकपा(एमाले) का अध्यक्ष प्रेम सिंह धामी, नेकपा(माओवादी केन्द्र) का अध्यक्ष खडक धामी लगायतको उपस्थित रहेको थियो ।


