असार १८ बुटवल । लुम्बिनी प्रदेश सरकारकी पूर्वस्वास्थ्य राज्यमन्त्री विमला वलीको व्यवहार पदीय मर्यादा विपरीत भएको छानबिन समितिले निष्कर्ष निकालेको छ । राज्यमन्त्री बिमला वलीले आवेगमा माओवादी कार्यकर्ता एकराज बस्नेतको घरमा गएर पदीय मर्यादा विपरीत काम गरेको छानबिन समितिले निष्कर्ष निकालेको हो ।
प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा नेतृत्वको छानबिन समितिले मुख्यमन्त्री कुलप्रसाद केसीलाई वलीबाट पदीय मर्यादा विपरीत आवेगात्मक कमजोरी गरेको निश्कर्ष सहितको प्रतिवेदन बुझाएको छ । एकराज बस्नेतले सापटी लगेको रकम फिर्ता नगर्दा राज्यमन्त्री वलीबाट आवेगात्मक कमजोरी हुन गएको छानबिन समितिका संयोजक शर्माले बताए ।
एकराजसंग वलीले साढे ६ लाख रुपैयाँ सापटी दिएको रकम फिर्ता लिनुपर्ने छानबिनमा खुलेको संयोजक शर्माले बताए । प्रतिवेदन बुझ्दै मुख्यमन्त्री केसीले मन्त्रीलाई बदनाम गर्न सुनियोजित ढंगले घटना भएको विषय पनि उठेकाले त्यसको पनि छानबिन गरिने बताए । ‘एकराजले घरमै छु भनेर बोलाएको घरमा जाँदा उनी नभएको तर धेरैजना आफन्त र पत्रकार समेत पुगिसकेकाले सुनियोजित तरिकाले बदनाम गर्न खोजिएको आशंका भएको मुख्यमन्त्री केसीले बताउनु भयो ।
प्रतिवेदनको विस्तृत अध्ययन गरेर सरकारले आवश्यक कदम चाल्ने मुख्यमन्त्री केसीले बताउनु भयो । उक्त घटना पछि विवाद आउदा राज्यमन्त्री वलीले असार १२ गते राजीनामा दिएकी र १५ गते राजीनामा स्वीकृत भएको थियो । राज्यमन्त्री वलीले जेठ ३१ गते दाङ तुलसीपुर उप महानगरपालिका वडा नम्बर ५ का एकराज बस्नेतको घरमा पुगेर उनकी श्रीमती मीना भण्डारी बस्नेत र उनकी छोरीमाथि हातपात गरेकी थिइन् ।
उक्त घटना छानबिनका लागि सरकारले आर्थिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्मा संयोजक, कानुन, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्ती र महान्याधिवक्ता श्रीकृष्ण सुवेदी सदस्य रहेको समिति गठन गरेको थियो । घटना भएलगत्तै प्रहरी नियन्त्रणमा रहेकी राज्यमन्त्री वलीलाई मुख्यमन्त्रीकै निर्देशनमा बुटवल ल्याइएको थियो ।
मन्त्रीको कमजोरी भेटिएकाले राजीनामा दिन लगाएर मात्रै प्रतिवेदन सार्वजनिक गरिएको श्रोतको दाबी छ । नेकपा एमालेबाट निर्वाचित श्रीमान उत्तरकुमार ओलीको निधन भएपछि बिमलाले तत्कालिन नेकपाबाट दाङको ३ को (ख) बाट उपनिर्वाचनबाट निर्वाचन जितेकी थिइन् ।
२०७७ साल फागुन २३ गते सर्वोच्चले नेकपा खारेज गरेपछि बैशाख १९ मा उनले माओवादी केन्द्र रोजेकी थिइन् । नेकपा एमालेले दुई महिना अघिसम्म सूर्य चुनाव चिह्नबाट निर्वाचन लडेर पार्टी निर्णय विपरीत माओवादीमा गएको भन्दै कारवाहीको माग गर्दै प्रदेशसभा अवरुद्ध गर्दै आएको थियो । वलीसहित स्वतन्त्र तर सूर्य चुनाव चिह्नबाट निर्वाचन जितेका अर्का मन्त्री अजय शाहीको विरुद्धको मुद्धा सर्वोच्चमा विचाराधीन रहेको छ ।


