चैत्र २९ धनगढी । सुदूरपश्चिमेलीहरूको महत्वपूर्ण चाड बिसु पर्व तथा नयाँ वर्षको अवसरमा नेपाल फर्कनेहरुको संख्या बढ्दै गएको छ । बिसु पर्वको अबसरमा नेपाल फर्कनेहरुको संख्या बढ्दै गएको हो । गौरीफन्टा नाका हुँदै दैनिक भारतमा रोजगारीका लागि गएका नेपालीहरू स्वदेश फर्कन थालेका हुन् ।
रोजगारीको सिलसिलामा लामो समय देखि भारतका विभिन्न स्थानमा काम गर्दै आएका नेपालीहरू चाडपर्व मनाउन उत्साहित हुँदै घर फर्किरहेका हुन् । कैलालीको बौनीयाका बसन्त कुमारले तीन वर्षदेखि भारतमा मजदुरी गर्दै आएको बताए । नयाँ वर्ष र बिसु पर्व परिवारसँग मनाउन पाउँदा उनी निकै खुशी भएका उनले म लामो समय पछि स्वदेश फकिएको बताए ।
त्यसैगरी काखमा दुधे बालक बोकेर श्रीमानसँगै गौरीफन्टा नाका पार गर्दै नेपाल प्रवेश गरेकी कैलालीकी अनु धामीले पनि डेढ वर्षपछि घर फर्किएको बताईन । नेपालमै रोजगारी भएको भए विदेशमा मजदुरी गर्न जानु नपर्ने बताउदै उनले बिसु पर्वका लागी नेपाल फर्किएको बताईन । आफ्नो देशको माटोमा पाइला टेक्दा उनीहरूमा छुट्टै खुशी र उत्साह देखिउको छ ।
सुदूरपश्चिम प्रदेशका नौ वटा जिल्लामा मनाइने बिसु पर्व नयाँ वर्षको आगमनसँगै विशेष उत्साहका साथ मनाउने गरिन्छ । यस अवसरमा विभिन्न परिकार बनाएर खाने र पारिवारिक जमघट गर्ने परम्परा रहेको छ । बैतडीका चेतबहादुर बिष्ट पनि चार वर्षपछि आफ्ना बालबच्चासँग समय बिताउन घर फर्किएका छन् ।
सानै उमेरदेखि भारतको केरलामा काम गर्दै आएको बताउदै उनले लामो समय पछि परिवारसँग भेट्न पाउँदा निकै खुशी लागेको बताए । हाल गौरीफन्टा नाकाबाट दैनिक एक हजार भन्दा बढी नेपाली स्वदेश फर्किरहेका छन् । प्रदेशका अन्य नाकाबाट समेत हजारौंको संख्यामा नागरिक घर फर्किरहेका छन् ।
अधिकांशले नेपालमा पर्याप्त रोजगारी नभएका कारण विदेशीनु परेको गुनासो गरेका छन । रोजगारीको अवसर नहुँदा उनीहरू विदेशमा मजदुरी गर्न बाध्य भएका छन । उनीहरूले नयाँ सरकारले स्वदेशमै रोजगारी सिर्जना गर्ने अपेक्षा गरेका छन् ।


