चैत्र २९ कञ्चनपुर । निर्माण व्यवसायी संघ कञ्चनपुरले सार्वजनिक खरिद ऐन, २०६३ संशोधनका लागि सुझाव संकलन समिति गठन गरेको छ । नेपाल निर्माण व्यवसायी महासंघले सरकारलाई ऐन संशोधनका लागि देशभरबाट सुझाव संकलन गरे अनुरूप कञ्चनपुरमा पनि सुझाव संकलनका लागि समिति गठन गरेको हो । निर्माण व्यवसायी संघ कञ्चनपुरका महासचिव देवीदत्त भट्टले झन्झटिलो ऐन संशोधनका लागि जिल्लाबाट समेत सुझाव संकलनका लागि समिति विस्तार गरिएको बताए । संघका अध्यक्ष पुष्पराज अवस्थीको संयोजकत्वमा सात सदस्यीय सुझाव संकलन समिति गठन गरिएको हो ।
उक्त समितिले निर्माण व्यवसायीमाथि परेका पिरमर्र्का सम्बोधन हुने गरेर जिल्लाबाट दुई दिन भित्रै सुझाव संकलन गरेर केन्द्रमा पठाउने छ । जिल्लाका निर्माण व्यवसायीहरूले मध्यपूर्वका देशहरूबिचको द्वन्द्वले अन्तर्राष्ट्रिय बजारमा इन्धनको अभावसँगै मूल्यवृद्धिले मारमा परेको बताएका छन् । उनीहरूले एकातिर सार्वजनिक खरिद ऐनसँगै निर्माण सामग्री सहित इन्धनको मूल्य वृद्धिले मारमा परेको बताएका हुन् ।
कञ्चनपुरका वरिष्ठ निर्माण व्यवसायी रघुवीर साउदले निर्माण कार्यका लागि चाहिने आवश्यक इन्धन सामग्रीको अभावले व्यवसाय धराशायी बनेको बताए । उनले जिल्लाका सबै निर्माण व्यवसायीले सरकारलाई लाइसेन्स बुझाएर आत्मसर्मपण गर्नुको विकल्प नभएको बताए । निर्माण व्यवसायी संघ कञ्चनपुरका निवर्तमान अध्यक्ष निरञ्जनप्रसाद भट्टले निर्माण सामग्रीको मूल्य आकासिएसँगै आफूहरू मारमा परेको बताए ।
संशोधन गर्नुपर्ने ऐन पनि आफूहरूको हितमा नभए झन जोखिम बढाएकाले जिल्ला, प्रदेश देखि केन्द्रीय महासंघले चनाखो हुनुपर्ने बताए । युवा निर्माण व्यवसायी शंकर जोशीले मूल्य वृद्धिले व्यवसायी मारमा परेको दुःखेसो पोख्दै यसतर्फ ध्यान दिनुपर्ने बताए । अर्का युवा व्यवसायी ज्ञानेन्द्र फुयाँलले आफूहरूमाथि बज्रपात भइरहेको भन्दै समयमै नियन्त्रण गर्न नसके ठुलो क्षति हुने चिन्ता व्यक्त गरेका छन् ।
निर्माण व्यवसायी संघ कञ्चनपुरका पूर्वअध्यक्ष लोकबहादुर ठकुराठीले निर्माण व्यवसायी पनि पूर्ण इमानदार, सरकार पनि अभिभावक र कर्मचारीले घुस खान छाड्नुपर्ने सुझाव दिएका छन । नेपाल निर्माण व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष प्रकाशबहादुर सेटीले ऐन संशोधनका लागि जिल्ला जिल्लाबाट आएका सुझाव महासंघलाई बुझाउने बताए । उनले व्यवसायीको हकहित देखि सरकारी कामकाज प्रभावकारी बनाउने गरेर ऐन संशोधन हुने अपेक्षा गरिएको बताए ।


