चैत्र २७ कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर–१० झलारीका रामसिंह डगौराको आर्थिक अबश्था मजबुत बन्दै गएको छ । व्यावसायिक तरकारीखेती गर्दे आएका डगौराको आर्थिक अबश्था मजबुत बन्दै गएको हो । श्रीकृष्ण माध्यमिक विद्यालयको करिब डेढ बिघा जग्गा भाडामा लिएर विगत सात वर्षदेखि निरन्तर तरकारी खेती गर्दै आएका उनले जग्गा भाडाबाफत विद्यालयलाई वार्षिक ५५ हजार बुझाउँदै आएका छन ।
डगौराले बारीमा बाह्रै महिना मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आएका छन् । तरकारीखेतीबाट मासिक ५० हजार देखि ७० हजार सम्म आम्दानी हुने गरेको बताउदै उनले वार्षिक १० लाख भन्दा बढी आम्दानी हुने गरेको बताए । बारीमा मुला, तोरैया, खुर्सानी, फर्सी, लौका, काँक्रा, बोडी, करेला, धनियाँ, बन्दा, सिमला मिर्च र गोलभेँडा लगायतका तरकारी उनले उत्पादन गर्दै आएका छन ।
तरकारी खेती विस्तारका लागि उनले बैंकबाट १० लाख कर्जा लिइसकेको बताए । तरकारीखेतीको आम्दानीले तीन जना छोराछोरीलाई उच्च शिक्षा पढाउदै आएका उनले बिरामी श्रीमतीको उपचार, बैंक ऋणको किस्ता तथा घरखर्च धान्दै आएको बताए । “आम्दानीको आधाभन्दा बढी रकम छोराछोरीको पढाइमा खर्च हुने गरेको बताउदै उनले सन्तानको भविष्य राम्रो बन्यो भने सम्पत्ति आफैँ जोडिने भएकाले सम्पत्ति जोड्नुभन्दा सन्तानकै शिक्षामा तरकारीखेतीबाट आर्जन गरेको रकम खर्च गर्दै आएको बताए ।
उनकी एक छोरीले आइएस्सी एजी उत्तीर्ण गरी काठमाडौँमा लोकसेवाको तयारी गरिरहेकी छिन् भने छोरा र अर्की छोरीले होटल व्यवस्थापन विषयमा अध्ययन गरीरहेका छन । छोराछोरीबीच कुनै भेदभाव नगरी समान अवसर दिनुपर्नेमा आफू दृढ रहेको उनले बताएका छन । तरकारीखेतीमा श्रीमती सीमा डगौराले पनि साथ दिँदै आएको बताउदै उनले उत्पादन भएको अधिकांश तरकारी बारीबाटै बिक्री हुने गरेको बताए ।
बाँकी महेन्द्रनगर बजारमा पुर्याएर बिक्री गर्ने गरेको बताउदै उनले तरकारीसँगै नर्सरीमा बिरुवा उत्पादन गरी बिक्री गर्ने काम पनि गर्दै आएको बताए । यस वर्षमात्रै बिरुवाबाट दुई लाख ५० हजार आम्दानी भएको उनले बताए । कृषि ज्ञान केन्द्र मार्फत उनले दुईवटा प्लास्टिकका हाइटेक टनेल, बीउबिजन र सिँचाइका लागि पाइप अनुदानमा प्राप्त गरेको बताए ।
व्यावसायिक किसानलाई राज्यले अझ प्रभावकारी सहयोग गर्नुपर्ने उनले बताए । सहुलियत दरमा कर्जा, समयमै मल, बीउबिजन र कीटनाशक पाइयो भने उत्पादन अझ बढाउन सकिने उनले बताए । आवश्यक सामग्री समयमै नपाउँदा अपेक्षित उत्पादन गर्न कठिन भएको बताउदै उनले व्यावसायिक तरकारीखेतीले आम्दानीसँगै रोजगारी र आत्मनिर्भरता बढाएको बताए ।


