चैत्र ०५ अछाम । अछामको ढकारी गाउँपालिकामा बजेट दुरुपयोग गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिका अध्यक्ष सहित ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर साउद, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण शाह, लेखापाल विमल साउद तथा एक सञ्चार संस्थासँग सम्बन्धित व्यक्ति सहितले मिलेमतोमा करिब १२ लाख ७७ हजार २ सय ५० रुपैयाँ हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगल ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
अख्तियारका अनुसार चलचित्र (डकोमेन्ट्रि) निर्माणका नाममा नियम विपरीत सम्झौता, बिना प्रतिस्पर्धा खरिद, बढी पेस्की भुक्तानी र नक्कली बिल प्रयोग गरी सरकारी रकम दुरुपयोग गरिएको पाइएको छ ।
उक्त कार्य भ्रष्टाचार निवारण ऐन अन्तर्गत पर्ने भएकाले सबै प्रतिवादीविरुद्ध बिगो असुल सहित कैद र जरिवाना माग गर्दै विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी गराएको छ ।


