फागुन १५ कञ्चनपुर । जैविक विविधताले समृद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहिलोपटक ‘मदना चाँचर’ चरा देखिएको छ । सामान्यतः मध्य पहाडी र हिमाली वन क्षेत्रमा पाइने ‘मदना चाँचर’चरा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहिलोपटक देखिएको हो ।
तराईको समथर भूभागमा ‘मदना चाँचर’ चरा देखिनुलाई संरक्षणका दृष्टिले महत्त्वपूर्ण मानिएको छ । नेपाल पन्छी संरक्षण सङ्घ विसिएनका वरिष्ठ चराविज्ञ हिरूलाल डगौरा, दिलीप चन्द ठकुरी, सुमन चौधरी र डाः विकल्प पाण्डे सहितको टोलीले निकुञ्जमा चरा अवलोकनका क्रममा उक्त प्रजातिको चराको अभिलेख गरेको हो ।
चराविज्ञ हिरूलाल डगौराले ‘मदना चाँचर’को वैज्ञानिक नाम टर्डस बुबुल भएको बताउदै जुन थ्रस चाँचर परिवार अन्तर्गत पर्ने जानकारी गराए । अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घ आयुसिएनले यस प्रजातिलाई विश्वस्तरमा ‘कम चिन्ताजनक’ अर्थात् सामान्य श्रेणीमा राखेको बताउदै चराविज्ञ डगौराले शुक्लाफाँटाका सन्दर्भमा भने यो नयाँ तथा दुर्लभ अभिलेखका रूपमा रहेको बताए । यो चरा प्रायः १ हजार ८ सय देखि २ हजार ७ सय मिटर उचाइका आद्र्र मध्यपहाडी तथा हिमाली वन क्षेत्रमा बसोबास गर्ने उनले बताए ।
जाडोयाममा केही तल झर्ने भए पनि तराईको समथर भूभागमा देखिनु असामान्य मानिने उनले बताए । “विश्वस्तरमा सामान्य प्रजाति भए पनि शुक्लाफाँटामा देखिनु स्थानीय रूपमा दुर्लभ घटना भएको बताउदै उनले “यसले वातावरणीय अवस्था वा बसाइँसराइको ढाँचामा आएको परिवर्तनलाई संकेत गर्न सक्ने बताए । करिब २८–२९ सेन्टिमिटर लम्बाइको यो चरामा भाले कालो रङको भई पखेटामा खैरो दाग देखिने बताउदै उनले पोथी खैरो रङकी हुने बताए ।
भालेको चुच्चो पहेँलो र पोथीको हल्का पहेँलो वा खैरो हुने उनले जानकारी गराए । नेपाल देखि उत्तरी भियतनाम सम्मका पहाडी क्षेत्रमा सीमित मानिने यो प्रजाति तराईमा देखिनुले जलवायु परिवर्तन वा पारिस्थितिक प्रणालीमा भइरहेको फेरबदलको संकेत हुन सक्ने अनुमान गरिएको उनले बताए ।
नयाँ अभिलेखसँगै शुक्लाफाँटामा पाइने चराहरूको सङ्ख्या वृद्धि भएको उनले बताए । पहाडी क्षेत्रको यो प्रजाति निकुञ्जमा अभिलेख भएसँगै शुक्लाफाँटालाई चरा अवलोकन तथा वैज्ञानिक अनुसन्धानका दृष्टिले अझ महत्त्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने उनले बताए ।


