फागुन ०८ डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर–६ का स्थानीय बासिन्दाले आगामी प्रतिनिधिसभा निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका छन् । फोहोरमैला व्यवस्थापनको विषयलाई लिएर असन्तुष्टि जनाउँदै उनीहरूले औपचारिक घोषणासभाको आयोजना गरी प्रतिनिधिसभा निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका हुन ।
स्थानीयका अनुसार नगरपालिकाले सुरुमा अमरगढी नगरपालीका वडा नम्बर–५ भजनपुर नजिकैको गुनेगाड क्षेत्रमा कागती खेती गर्ने योजना रहेको जानकारी दिएको मा पछि सोही स्थानमा फोहोर फाल्न सुरु गरिएको भन्दै उनीहरू आक्रोशित भएका छन् ।
फोहोर विरुद्ध संघर्ष समितिका अध्यक्ष गंगा ताम्राकारले नगरपालिकाले वास्तविक योजना लुकाएर जनतालाई भ्रममा पारेको आरोप लगाउदै उक्त क्षेत्र फोहोर व्यवस्थापन केन्द्रका लागि उपयुक्त नभएको भन्दै पटक–पटक विरोध जनाए पनि माग बेवास्ता गरिएको बताए । बस्ती नजिकै रहेको, खानेपानीका मुहान, सिँचाइको स्रोत तथा विद्यालय जाने बाटो समेत प्रभावित हुने भएकाले उक्त स्थान उपयुक्त नभएको स्थानीयले बताएका छन ।
स्थानीयले फोहोर व्यवस्थापनका लागि वैकल्पिक र उपयुक्त स्थान छनौट गर्न माग गर्दै माग सम्बोधन नभए आन्दोलन थप चर्काउने चेतावनी दिएका छन् । शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुराबाट सातपटक निर्वाचित भई पाँचपटक प्रधानमन्त्री भइसकेका छन् भने यसपटक उनी उम्मेदार बनेका छैनन ।


