फागुन ०८ धनगढी । धनगढीस्थित एरिष्टो माध्यमिक विद्यालयको ३३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । शुक्रबार विद्यालयको ३३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि कैलाली बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख डा. धर्मराज उपाध्याय रहेका थिए भने कार्यक्रमको अध्यक्षता विद्यालयकी संस्थापक शान्ति अधिकारीले गरेकी थिइन् ।
समारोहमा प्याब्सन कैलालीका अध्यक्ष ध्रुवबहादुर सिंह, धनगढी उपमहानगर पालिका वडा नम्बर ८ का अध्यक्ष जुगराम चौधरी तथा शिक्षा क्षेत्रमा ३० वर्ष लामो योगदान दिएका हेमराज अधिकारी उपस्थित थिए । कैलाली विद्या निकेतनका संस्थापक तथा प्रिन्सिपल टोपेन्द्र शाह, थ्रिस्टार स्कुलका प्रिन्सिपल गोपाल शर्मा लगायत अभिभावक, पत्रकार, विद्यार्थी र शिक्षाप्रेमी बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. उपाध्यायले एरिष्टो माध्यमिक विद्यालयले समय अनुकूल तथा युगले माग गरेको गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताए । प्याब्सन अध्यक्ष धुर्व बहादुर सिंहले विद्यालयले धनगढीका अन्य विद्यालय भन्दा फरक पहिचान बनाएको बताउदै अझ प्रगति गर्न शुभकामना व्यक्त गरेका थिए ।
वडा अध्यक्ष जुगराम चौधरीले विद्यालयले समय सापेक्ष शिक्षा प्रदान गर्दै उत्कृष्ट नतिजा हासिल गरिरहेको बताए । त्यसैगरी संस्थापक शान्ति अधिकारीले अभिभावकहरूको विश्वास र सहयोगकै कारण विद्यालयले निरन्तर सफलता हासिल गरिरहेको बताइन् । कार्यक्रमका अवसरमा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो । विशेषगरी एसईई परीक्षामा ४ जीपीए ल्याउने विद्यार्थीहरूलाई सम्मान सहित ल्यापटप वितरण गरिएको थियो ।


