माघ १८ डडेल्धुरा । डडेलधुराको भागेश्वर गाउँपालिका वडा नम्बर–४ किमौला क्षेत्रमा गाई, भैंसी र बाख्रामा खोरेत रोगसँग मिल्दो जुल्दो लक्षण देखिए पछि उपचार, निगरानी र रोग निदानको काम सुरु गरिएको छ ।
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र डडेलधुराले गाई, भैंसी र बाख्रामा खोरेत रोगसँग मिल्दो जुल्दो लक्षण देखिए पछि उपचार, निगरानी र रोग निदानको काम सुरु गरेको हो ।
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख वरिष्ठ पशु चिकित्सक देवराज भट्टले प्रारम्भिक रूपमा खोरेतसँग मिल्दो जुल्दो लक्षण देखिएकाले रोगको यकिन पुष्टि गर्न पशुबाट संकलन गरिएका ‘स्याम्पल’ परीक्षणका लागि काठमाडौं पठाइएको जानकारी गराए ।
पशुमा शारीरिक तापक्रम बढ्ने, अत्यधिक ¥याल बग्ने, मुखभित्र (जिब्रो र गिजा) घाउ देखिने तथा खुरको बीच भागमा घाउ भई लंगडाउने जस्ता लक्षण देखिएको उनले बताए । रोग पुष्टि नहुँदासम्म सम्भावित जोखिमलाई ध्यानमा राखेर नियन्त्रणका सबै उपाय अपनाइएको उनले जानकारी गराए ।
रोग फैलिन नदिन बिरामी पशुलाई अलग्गै राखी उपचार गर्न, बिरामी पशुलाई चरिचरन क्षेत्रमा नलग्न, रोग देखिएको क्षेत्र र सिमाना जोडिएका स्थानमा रोग नियन्त्रण नहुञ्जेल पशु तथा पशुजन्य वस्तुको आवत–जावतमा सचेत हुन तथा बिक्रीवितरण रोक्न केन्द्रले आग्रह गरेको छ ।
त्यसैगरी हालसम्म रोग नदेखिएका क्षेत्रबाट आएका पशुमा खोप लगाउन सहयोग गर्न पशुपालकलाई अनुरोध गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र डडेलधुराले स्थानीय तह र पशुपालकसँग समन्वय गर्दै रोग नियन्त्रण तथा निगरानीको काम निरन्तर जारी राख्ने जानकारी गराएको छ ।


