माघ ०४ डडेल्धुरा । कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा निर्वाचन कार्यालय अगाडी प्रदर्शन गरिएको छ । आइतबार दिउँसो निर्वाचन आयोगको निर्णय मान्दैनौं भन्दै कांग्रेस डडेल्धुराका नेता, कार्यकर्ताहरुले नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।
नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय विरुद्ध देउवा पक्षले जिल्ला निर्वाचन कार्यालय अगाडी नाराबाजी गरेका हुन् ।
जिल्ला सदरमुकाम स्थित अमरगढी नगरपालिका वडा नम्बर–५ तुफानडाँडामा रहेको कांग्रेसको पार्टी कार्यालयबाट नारा लगाउँदै जिल्ला निर्वाचन कार्यालयमा पुगेर नाराबाजी गरेको नेपाली कांग्रेस क्षेत्र (ख) का सभापति खडक बोहराले जानकारी गराए ।
नेपाली काँग्रेस निकट संगठनहरुले जिल्ला निर्वाचन कार्यालय डडेल्धुरा घेराउ गरेको उनले बताए । निर्वाचन आयोगले पार्टी सभापति शेरबहादुर देउवालाई आधिकारिकता नदिएका कारण काँग्रेसको भातृ संगठन नेपाल तरुण दलको आयोजनामा आइतबार निर्वाचन कार्यालय घेराउ गरिएको तरुण दलका जिल्ला सभापति करन बोहराले बताए ।
माग सम्वोधन नभए मंगलबार देखि कडा आन्दोलनमा जाने कार्यक्रम रहेको उनले बताए । आइतबार नेपाली काँग्रेसको पार्टी कार्यालयमा बसेको बैठकले आन्दोलनको कार्यक्रम गर्ने निर्णय गरेपछि निर्वाचन कार्यालय घेराउ गरिएको उनले बताए ।
नेपाल विद्यार्थी संघ शिक्षा क्याम्पस इकाई प्रमुख दुर्गा भट्टले आयोगले गरेको निर्णय स्वीकार्य नहुने बताउँदै देउवाले बैधानिकता नपाए सम्म आफूहरु आन्दोलनमा उत्रिने चेतावनी दिए । काँग्रेस महाधिवेशन प्रतिनिधि जगत ऐरले बिदेशीको चलखेलमा थालिएको यो कदम मान्य नहुने बताउदै डडेल्धुराबाट चुनाव जित्दै आएका देउवा र काँग्रेस प्रति अन्याय भएको बताए ।


