पौष २६ कञ्चनपुर । थारु समुदायको नयाँ वर्ष तथा सबैभन्दा ठूलो सांस्कृतिक पर्व माघी नजिकिँदै गर्दा थारु बस्तीमा चहलपहल बढेको छ । माघीको आगमनसँगै थारु गाउँहरूमा बिहान देखि साँझ सम्म चहलपहल बढेको हो । कसैले दाउरा जोहो गरिरहेका छन् भने कसैले वनबाट साल र मालुका पात सङ्कलन गरिरहेका छन् । महिलाहरू घरआँगनमा बसेर पातका दुना–टपरी बनाउन व्यस्त छन् ।
माघीमा पाहुनालाई दुना–टपरीमै खाना पस्किने चलन भएकाले उनीहरु दुना टपरी बनाउन ब्यस्त छन । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर–२ वाणिकी दुर्गा चौधरीले माघीले थारु समुदायको प्रकृतिसँगको आत्मीय सम्बन्ध झल्काउँने बताईन । थारु समुदायका मौलिक परिकारहरू माघी पर्वको केन्द्रमा रहने बताउदै उनले ती परिकारहरूलाई घरकै महिलाहरूले पात गाँसेर बनाएका दुनाटपरीमा दिने चलन भएको बताईन ।
माघीमा अनिवार्य मानिने ‘ढिक्री’, ‘अनडीको भात’, ‘सुँगुरको मासु’ र ‘जाँड’ बनाउने तयारी अहिले अन्तिम चरणमा पुगेको उनले बताईन् । माघीका लागि महिलाहरू घरघरमा अनडी चामल भिजाउने, पकाउने र जाँड राख्ने काममा व्यस्त भएको उनले बताईन । शुक्लाफाँटा नगरपालिका वडा नम्बर–२ का पूर्व बरघर भरतबहादुर चौधरीले घरका पुरुषहरू सुँगुरको जोहोमा लागेको बताए ।
केही महिला र पुरुषहरू नदी, खोला, तालतलैया र पोखरीमा माछा मार्ने कार्यमा समेत संलग्न भइरहेको उनले बताए । बालबालिका देखि वृद्धसम्मको सहभागितामा हुने तयारीले गाउँमा सामूहिकताको भावना बलियो बनाउने गरेको उनले बताए । साँझ पर्न नपाउँदै गाउँका चोक र खुला आँगनमा मादलको ताल सुनिन थालिसकेको उनले बताए । शुक्लाफाँटा नगरपालिका वडा नम्बर–७ का कालुराम डगौराले मघौटा नृत्यको अभ्यासले गाउँको वातावरण झन जीवन्त बनेको बताउदै “युवायुवतीहरू माघीमा देखाउने नृत्यको अभ्यासमा जुटेको बताए ।
ज्येष्ठ नागरिकहरू पुराना माघीका कथा र अनुभव सुनाउँदै बसिरहेको उनले बताए । माघी पर्वमा विवाहित चेलीबेटीहरूलाई माइती बोलाउने चलन रहेकाले उनीहरूलाई निम्ता दिन थालिएको उनले बताए । पर्वको स्वागतमा थारु बस्तीका कच्ची घरहरू लिपपोत गरेर चिटिक्क पारिएका छन् भने पक्की घरहरू रङरोगन गरिएका छन् । आँगन सफा गरिएको छ, गोठघर मर्मत गरिएको छ ।
गाउँका साझास्थल, मन्दिर र बाटोघाटोमा सामूहिक सरसफाइ अभियान चलाइएको शुक्लाफाँटा नगरपालिका वडा नम्बर–३ का बरघर राजु चौधरीले बताए । कञ्चनपुरका शुक्लाफाँटा, बेदकोट, कृष्णपुर र बेलौरी नगरपालिकाका थारु बहुल क्षेत्रहरूमा माघी विशेष सांस्कृतिक कार्यक्रम तथा महोत्सवको तयारी पनि तीव्र गतिमा भइरहेको छ । माघी पर्वलाई शत्रुता भुलेर मित्रता गाँस्ने पर्वका रूपमा लिइने गरिन्छ ।
“पुराना मनमुटाव माघीमा टुङ्ग्याउने, आपसी सम्बन्ध सुधार्ने र नयाँ वर्षलाई सकारात्मक सोचका साथ सुरु गर्ने परम्परा थारु समाजमा रहेको छ । जोनापुर गाउँका बडघर सुरेश चौधरीले माघी केवल खानपान र रमाइलोमा सीमित पर्व नभएको बताउदैे थारु समुदायको पहिचान, संस्कृति र सामाजिक एकताको प्रतीकका रूपमा रहेको बताए ।
माघीको सबैभन्दा महत्त्वपूर्ण पक्षमध्ये गाउँको नयाँ नेतृत्व चयन भएको उनले बताए । माघीकै अवसरमा बस्ने गाउँसभा ‘देवानी’ मा वर्षभरको आय–व्ययको समीक्षा गरिनुका साथै आगामी वर्षका लागि नयाँ भल्मन्सा (गाउँ प्रमुख), बरघर, चौकीदार र गुरुवाको चयन गरिने उनले बताए ।


