पौष २६ दार्चुला । कालापानी नजिकको व्यास गाउँपालिका वडा नम्बर–१ छाङरु र तिङ्करको मतदान जिल्ला सदरमुकाम खलङ्गामै हुने भएको छ । मतदाता सदरमुकाम खलङ्गामै रहेको र विगतमा भएका निर्वाचनमा समेत खलङ्गामै मतदान भएका कारण आगामी फागुन २१ को निर्वाचन समेत खलङ्गामै हुने भएको हो ।
जिल्ला निर्वाचन कार्यालय दार्चुलाका कार्यालय प्रमुख एवं निर्वाचन अधिकृत प्रदीपसिंह धामीले अत्यधिक चिसो बढेर हिउँ परेपछि गत मङ्सिरको पहिलो हप्ता उक्त गाउँका सौका समुदायका मानिस सदरमुकाम खलङ्गा बसाइँ सरेको बताउदै खलङ्गामै निर्बाचन हुने बताए ।
सौका समुदायका मानिस छ महिना छाङरु र तिङ्कर गाउँमा बस्ने बताउदै उनले छ महिना सदरमुकाम खलङ्गामा बस्ने गरेको बताए । यस क्षेत्रका सबै जसो मतदाता खलङ्गा झरिसकेको उनले बताए । छाङरु र तिङ्कर दुवै गाउँको निर्वाचन जिल्ला सदरमुकाममै गर्ने गरी तयारी भइरहेको उनले बताए ।
विगतमा सर्वदलीय सहमति र वडाको सिफारिसका आधारमा दुवै गाउँको मतदान केन्द्र खलङ्गामै कायम गरिएको उनले बताए । छाङरुको मतदान केन्द्रमा ३ सय ७५ र तिङ्करको मतदान केन्द्रमा २ सय ४४ जना मतदाता रहेको निर्वाचन अधिकृत धामीले जानकारी गराए ।
त्यसैगरी प्रतिनिधि सभा निर्वाचनका लागि दार्चुलामा ९२ हजार ९ सय ४८ जना मतदाता कायम भएका छन् । प्रतिनिधि सभा निर्वाचनका लागि नयाँ थपिएका दुई हजार ६ सय ८ सहित ९२ हजार ९ सय ४८ जना मतदाता कायम भएको उनले बताए । विसं २०७९ को निर्वाचनमा ९० हजार ७ सय ८२ जनाले मतदान गरेको उनले बताए ।
दार्चुलामा ४७ हजार ७ सय ५५ जना पुरुष तथा ४५ हजार १ सय ९३ जना महिला मतदाता रहेको उनले जानकारी गराए । निर्वाचन स्वच्छ र भयरहित वातावरणमा गर्न जिल्ला सुरक्षा समितिले सुरक्षाको प्रबन्ध मिलाएको जिल्ला सुरक्षा समिति दार्चुलाका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताए । उनले मतदान केन्द्रलाई तीन भागमा वर्गीकरण गरी सुरक्षा गस्ती गराउने र सुरक्षा पेट्रोल गर्ने कार्य भइरहेको जानकारी गराए ।


