पौष २४ डडेल्धुरा । बिहीबार दिउँसो देखि डडेलधुरा अस्पतालका सम्पूर्ण सेवाहरू सुचारु भएका छन । बुधबार अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझालाई दुव्र्यवहार भएपछि आकस्मिक बाहेकका बन्द भएका सम्पूर्ण सेवाहरु सुचारु भएका हुन । बिहीबार सरोकारवाला निकायबीच भएको छलफलमा अस्पतालका सबै सेवाहरु सुचारु गर्ने निर्णय भए पछि सेवाहरु सुचारु भएका हुन ।
बैठकमा जिल्ला समन्वय समिति प्रमुख गगनसिंह भण्डारी, अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशी, प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइराला, अस्पताल विकास समिति अध्यक्ष करुणाकर ओझा, डडेलधुरा अस्पतालकी प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सुधा देवकोटा लगायतको उपस्थिति रहेको थियो ।
बैठकले अध्यक्षलाई दुव्र्यवहार गर्ने घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही अघि बढाउने निर्णय गरेको छ । भविष्यमा यस्ता घटनाहरू दोहोरिन नदिन शंकास्पद गतिविधिहरूका बारेमा तत्काल स्थानीय प्रशासनलाई जानकारी गराउने निर्णय भएको अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले बताए ।
सुदूरपश्चिमका पहाडी जिल्लाका नागरिकहरूको उपचारको प्रमुख आधार बनेको डडेल्धुरा अस्पतालमा सेवा प्रवाहलाई अझ सहज, प्रभावकारी र गुणस्तरीय बनाउने उद्देश्य सहित आफूहरू निरन्तर लागिरहेको उनले बताए । पछिल्लो समय प्रमाण बिनाका आरोप लगाउँदै राजनीतिक आग्रह–पूर्वाग्रहका आधारमा पवित्र स्वास्थ्य संस्थामाथि आक्रमण र दुव्र्यवहार गरिएको घटनाले अस्पतालको संस्थागत विकासमा अवरोध पुगेको उनले बताए ।
अस्पतालमा कुनै पनि प्रकारको गल्ती, कमजोरी वा अनियमितता भएको प्रमाणित हुन्छ भने कानुन अनुसार कारबाही भोग्न तयार भएको बताउदै उनले निराधार आरोप लगाएर राजनीतिक आडमा स्वास्थ्य संस्थाको गरिमा माथि प्रहार गर्नु दुर्भाग्यपूर्ण भएको बताए । सामाजिक सञ्जाल र मिडिया मार्फत तथ्यबिना आरोप लगाउने प्रवृत्तिले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको मनोबल कमजोर बनाएको उनले बताए ।
यस्ता गतिविधिले कर्मचारीहरूलाई हतोत्साहित बनाएको बताउदै उनले जसको प्रत्यक्ष असर सेवाग्राहीमाथि परेको बताए । अध्यक्ष ओझाले आर्थिक लेनदेन, खरिद, निर्माण कार्य र कोष सञ्चालन नेपाल सरकारको कानुन र अधिकार प्राप्त निकाय मार्फत हुने भएकोले विषयमा गलत बुझाइ फैलाउनु उचित नभएको उनले बताए । बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै आफुमाथि भएको दुव्र्यवहार प्रति उनले खेद प्रकट गरेका छन् ।


