कातिक धनगढी । धान काटिसके पछि खेतमै गरिने थारु समुदायको परम्परागत ‘औली उतर्ना पूजा’ लोपोन्मुख अवस्थामा पुगेको छ । विशेष गरेर धान काट्न प्रयोग हुने करौती र हँसिया एवं यस्ता हतियारमा धार लगाउन प्रयोग हुने पत्थरलाई पूजा गर्ने परम्परा ‘औली उतर्ना पूजा’लोपोन्मुख अवस्थामा पुगेको हो ।
थारू अगुवा धनबहादुर कुश्मी चौधरीले पहिलेका दिनमा थारू समुदायले धान काटिसके पछि खेतका कुनामा हँसिया र धार लगाउने पत्थर राखी पूजा गर्ने गरेको बताए । लामो बाँसको टुप्पोमा कुशको मयुर बनाएर झुण्ड्याइने र त्यसैमा धानका बाला र फूलको माला लगाईने थारु संस्कृतिको प्रतीक भए पनि अहिले खेतमा त्यो दृश्य देख्न छाडेको उनले बताए ।
औली उतर्ना पूजामा खेतको सबै धान काटिसके पछि एक क्यारीको कुनामा थोरै धान बाँकी राखी घरको अगुवाले पूजा गर्ने गरेको सुनाउदै चौभरीले बाँकी राखिने त्यस धानलाई थारू समुदायले ‘उइँरा’ भन्ने बताए । पूजामा जल, सिन्दुर, फूल र मदिरा अर्पण गरिने जानकारी गराउदै उनले पूजा गर्ने बेलामा बचाइएको धानलाई बायाँ हातले काट्ने चलन रहेको बताए ।
हँसिया बसाल्ने परिवारका सदस्यको टाउकोमा धानसहितको बाला खन्याइने र जसले देवीदेवता प्रति सम्मान र आगामी वर्ष राम्रो धान फलोस् भन्ने कामना जनाउने उनले बताए । अन्नले भकारी टन्न भरियोस्, रोगव्याधि नलागोस् भन्ने विश्वासका साथ यो पूजा गर्ने गरिएको बताउदै उनले थारू समुदायले जाँड, मदिरा, सुगुरको मासु, माछा र अन्य परिकार बनाइ परिवारका सदस्यसँग बसेर रमाइलो गर्ने परम्परा रहेको बताए ।
खेतमै सयपत्रीका माला महिलाहरूले उनेर पूजामा सहभागीहरूलाई पहिराउने र परम्परागत गीत गाउँदै मादल बजाउँदै रमाइलो गरिने उनले जानकारी गराए । थारू संस्कृतिका जानकार हवलदार चौधरीले औली उतर्ना पूजा थारू समाजको कृषि–संस्कृति र प्रकृति प्रतिको कृतज्ञताको प्रतीक भएको बताए ।
पहिले वृद्धवृद्धाले धान काटिसके पछि गाउँभरी यो पूजा गर्ने बताउदै उनले अहिले धेरै जसो युवाले यस पूजा पद्धतिको नाम पनि नसुनेको बताए । बुढापाकाले नयाँ पुस्तालाई यसको अर्थ र विधि नबुझाइदिँदा थारू समुदायको मौलिक पूजा पद्धति लोप हुने अवस्थामा पुगेको उनले बताए ।
पहिले खेतीपातीसँगै पूजा–संस्कार पनि हने बताउदै उनले अहिले खेतीमात्र गरिने र पूजा पद्धति हराएको बताए । थारू समुदायका पुराना पुस्ताले औली उतर्ना पूजालाई देवीदेवतासँग सम्बन्ध कायम राख्ने माध्यमका रूपमा हेर्ने ग रेको सुनाउदै उनले यो पूजा सम्पन्न नगरी घर फर्कनु अशुभ मानिने बताए । अहिले आधुनिक कृषि उपकरण, समयको अभाव र नयाँ पुस्ताको उदासिनताका कारण यो परम्परा हराउँदै गएको उनले बताए ।


