कार्तिक ०१ दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले राति १० बजेसम्म मात्र देउसीभैलो खेल्न अनुमती दिएको छ । देउसीभैलो लगायतका सांस्कृतिक कार्यक्रम अनुशासित एवम मर्यादित रुपमा राति १० बजेसम्म मात्र खेल्न प्रशासनले अनुमती दिएको हो ।
प्रशासनले मौलिक परम्परा संस्कृतिको संरक्षण गर्दै प्रचलित कानुनको परिपालना गरी तिहार मनाउन अनुरोध गरेको छ । पटाका आतिशवाजी लगायतका विस्फोटक पदार्थहरूको प्रयोग, ओसार पसार तथा विक्री वितरण नगर्न पनि अनुरोध गरिएको छ ।
‘सवारी चालकलाई मादक पदार्थ सेवन गरी सवारी नचलाउन, क्षमता भन्दा बढी यात्रु नबोक्न, तोकिएको भन्दा बढी भाडा नलिन आग्रह गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी मोहन सिह धामीद्धारा हस्ताक्षरित सूचनामा यस्तो कार्य गरेको पाईएमा अथवा यात्रुलाई कुनै सहयोग आवश्यक परेमा यात्रु सहायता कक्षमा सम्पर्क गर्नु अनुरोध गरिएको छ ।
चाडपर्वको बेला हुन सक्ने चोरी, डकैती तथा लुटपाटको घटना न्यूनीकरण गर्न र आ–आफ्नो धन सम्पत्तिको सुरक्षामा विशेष ध्यान दिन प्रशासनले अपिल गरेको छ । सूचना विपरीत कार्य गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालय दार्चुलाले चेतावनी दिएको छ ।


