साउन ३१ अछाम । अछाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ घने पाँच जना घाइते भएका छन् ।
अछामको बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर–१ जयगढ बजारस्थित बर्दादेवी मन्दिर नजिक कृष्ण जन्माष्टमीका अवसरमा लाग्ने मेलाको तयारीस्वरूप सार्वजनिक स्थलमा नेपालको राष्ट्रिय झण्डा गाड्ने क्रममा फलामे झण्डाले बिजुलीको तारमा छुँदा करेन्ट लागेर एक जनाको मृत्यु भएको हो भने पाँच जना घाइते भएका हुन ।
करेन्ट लागेर घाइते भएका मेल्लेख गाउँपालिका वडा नम्बर–७ नन्देगडा निवासी १६ वर्षीय रोहित साउदको उपचारका क्रममा बयालपाटा प्रादेशिक अस्पताल अछाममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख ओमप्रकाश खनालले जानकारी गराए ।
घाइते बान्निगढी जयगढ गाउँपालीका वडा नम्बर– ६ का १८ वर्षीय समीर शाह, १७ वर्षका विनोद रावत, २० वर्षीय बम शाह, साँफेबगर नगरपालिका वडा नम्बर–४ मुवासैनका १६ वर्षीय लवशन सुनार र रामारोशन गाउँपालिका वडा नम्बर–६ भाटाकाटियाका १६ वर्षीय शमशेर साउदको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था सामान्य रहेको बताईएको छ ।


