साउन २१ अछाम । अछामको मेल्लेख गाउँपालिका वडा नम्बर– ५ ले सामाजिक सुरक्षा भत्ता लिने वडाबासीहरुको राष्ट्रिय परिचय पत्र बनाउनका लागि सहयोग गर्ने भएको छ । वडा कार्यालयले जेष्ठ नागरिक, एकल महिला र ख वर्गको अपाङ्गता भएका व्यक्तिहरुको राष्ट्रिय परिचय पत्र बनाउन सहयोग गर्ने भएको हो ।
राष्ट्रिय परिचय पत्र बनाउनका लागि सदरमुकाम मंगलसैन जानुपर्ने भएकाले वडा कार्यालयले सहयोग गर्ने भएको हो । मेल्लेख गाउँपालिका वडा नम्बर– ५ बाट जिल्ला सदरमुकाम पुग्न सवारी साधनबाट झण्डै ४ घण्टा लाग्ने गरेको वडाध्यक्ष प्रकाश बहादुर अधिकारीले जानकारी गराए ।
परिचय पत्र बनाउनका लागि आउने र जाने खर्च मात्रै १ हजार २ सय जति लाग्ने उनले बताए । सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिहरुले परिचय पत्रका लागि मात्रै त्यस्तो रकम तिरेर जान समस्या हुने भएकाले वडा कार्यालयले सहयोग गरिरहेको उनले बताए ।
वडा कार्यालयले त्यस्तो अवस्थाका व्यक्तिहरुलाई निःशूल्क रुपमा जिल्ला सदरमुकाम लगेर उनिहरुको परिचय पत्र बनाईदिने उनले बताए । ‘हाम्रो वडाबाट मंगलसैन पुग्न गाडीमा कम्तीमा पनि ४ घण्टा लाग्छ, त्यसमा गाडी भाडा आउन जान गरेर एक जनाको १ हजार २ सय भन्दा बढी लाग्छ वडाध्यक्ष अधिकारीले भने ‘सामाजिक सुरक्षा भत्ता पाउने त्यस्ता व्यक्तिहरुले त्यत्रो रकम तिरेर परिचय पत्र बनाउन समस्या छ ।
त्यसैले त्यस्ता व्यक्तिहरुको समस्यालाई मध्यनजर गरी वडाले उनिहरुलाई निःशूल्क रुपमा मंगलसैन पु¥याएर राष्ट्रिय परिचय पत्र बनाईदिने व्यवस्था मिलाएको उनले बताए ।
केही समय अघि पनि वडाका करिब ६० जनाको राष्ट्रिय परिचय पत्र बनाएको बताउदै उनले अझै पनि वडामा जेष्ठ नागरिक, एकल महिला र ख वर्गको अपाङ्गता भएका व्यक्तिहरुको राष्ट्रिय परिचय पत्र बनाउन बाँकी रहेको भन्ने जानकारीमा आएकाले मंगलबार ५ दिनको सूचना जारी गरेको बताए । त्यस्ता व्यक्तिहरुले वडा कार्यालयमा सम्पर्क राखेर आफ्नो नाम टिपाउन उनले आग्रह गरेका छन ।


