साउन १६ डोटी । पुस्तौँदेखि अपमानीत नामले चिनीएका डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर–५ दलित टोलको नाम परिबर्तन गरिए पछि स्थानीय दलित समुदाय खुसी भएका छन । बर्षौ देखि कायम आउजी÷ढोली बाडा जस्ता टोलका नाम परिबर्तन गरिए पछि स्थानीय दलित समुदाय खुसी भएका हुन ।
डोटीको दिपायल सिलगढी नगरपालिका वड नम्बर–५ की अम्बिका आउजीले अपमानीत टोलको नाम आउजी÷ढोली बाडा परिबर्तन गरेर फुलबारी टोल राखिए पछि खुसी भएको बताईन । टोलको नाम बदलिएपछि आत्मसम्मान फेरिएको महसूस भएको उनले बताईन ।
टोलको नामले सधैँ अपमान महसुस भइरहेको बताउदै उनले टोलछिमेकका अधिकांश दलित समुदायका व्यक्तिले वर्षौँदेखि अपमान महसुस गर्नु परेको बताईन । आउजी÷ढोली बाडामा बस्छु भन्न पनि अपमान महसूस हुने गरेको बताउदै उनले आत्मसममानमा चोट पुर्याउने गरेको बताईन ।
अहिले टोलको नाम फेरिएर फूलबारी भएको बताउदै उनले केवल नामको फेरबदल मात्र नभई मानवअधिकार, सामाजिक पहिचान र आत्मसम्मानमा परिबर्तन भएको बताईन । त्यसैगरी दलित महिला सङ्घ (फेडो) का कार्यक्रम संयोजक शङ्कर विश्वकर्माले जातीय आधारमा पुस्तौँदेखि कायम टोलका नामहरू फेर्ने अभियान शुरू भएको बताउदै केही टोलका नाम औपचारिक रूपमा परिवर्तन भइसकेको बताए ।
केही टोलमा नाम फेर्ने उद्देश्यले अभियान जारी रहेको बताउदै उनले विभिन्न महिला समूह, वडा कार्यालय र स्थानीय सरोकार निकायको सहकार्यमा अभियान शुरू भएको बताए । पुस्तौँदेखिको भुलबाडा ‘चेतना बस्ती’, आउजी÷ढोली बाडा ‘फूलबारी बस्ती’ र लोहारबाडा ‘बेतालदेउ बस्ती’ मा परिवर्तन भएको उनले बताए ।
वडा नंम्बर ५ बाट सुरू भएको अभियान अन्य वडा र गाउँपालिका हुँदै जिल्लाभरी सञ्चालन गर्ने योजना रहेको विश्वकर्माले बताए । जातका आधारमा नाम दिइएका बस्तीले दैनिकजसो मन दुखाउने र आत्म सम्मानमा ठेस पुग्ने गरेको बताउदै उनले आफ्नो ठाउँको नाम भन्न पनि हीनताबोध हुने गरेको बताए ।
पहिचानसँग अपमान, जातीय विभेद र तिरस्कार जोडिएका टोलका नाम परिबर्तनले स्थानीय खुसी भएको उनले बताए । विद्यालय, अस्पताल, कार्यालय लगायत हरेक ठाउँमा जातमा आधारित ठाउँ जनाउँदा नयाँ पुस्ताले झन् अपमान बोध गर्ने गरेको बताउदै उनले दलित समुदाय र युवापुस्ताले यो कार्यलाई ऐतिहासिक भनेको बताए । हिजो आफ्नो ठाउँको नाम भन्न हिच्किचाउनेहरू आज गर्वले उच्चारण गर्न थालेको उनले बताए ।
वडा कार्यालयको समन्वयनमा सरोकारवालाहरुसंगको निरन्तर छलफल, समुदायस्तरका बैठक, समझदारी र सहकार्य पछि अपमानीत नामहरू परिवर्तन सम्भव भएको फेडोका जिल्ला अध्यक्ष सरिता दियालीले बताईन ।‘ठाउँसँग जातीय पहिचान र जातसँग अपमान र विभेद नजोडिएको बताउदै उनले सामाजिक परिवेशका कारण ती शब्दहरूले आत्मसम्मानमा चोट पु¥याउने गरेको बताईन ।
त्यसैले सबैको सहमतिमा नाम फेर्ने अभियान शुरू गरेको बताउदै उनले नाम परिबर्तन गरिएको बताईन । त्यसैगरी ज्येष्ठ नागरिक दिलबहादुर कोलीले विगतमा भोगेका अपमान र विभेदका चोटमा मल्हम लगाउने काम भएको बताए । जीवनको उत्तराद्र्धमा समाजमा भइरहेका परिवर्तन र सकारात्मक सोचले उत्साहित बनाएको उनले बताए ।
टोलका नाम नाममात्र नभई पुस्तौँदेखिका गलत संस्कार, विभेदका कथाव्यथा पनि बाकेको बताउदै उनले विस्तारै समय बदलिनुका साथै टोलका नाम बदलिएको बताए । विगतका विस्मृतिलाई केही भए पनि भुलाएको बताउदै उनले आत्मसम्मान बढाउन योगदान पु¥याएको बताए । विभेदका बाँकी अवशेष पनि हटाउन आवश्यक भएको बताउदै उनले नाम फेरिएजस्तै समानताविरोधी सोच र व्यवहार पनि बदल्न लाग्नुपर्ने बताए ।
दलित महिला संघ फेडोको सहयोगमा डोटीको दिपायल सिलगढी नगरपालिका वड नम्बर–५ मा दलित महिलाहरूलाई सङ्गठित गर्दै विभिन्न ६ वटा समूह गठन गरिएका छन् । समूहले दलित तथा सीमान्तकृत महिलालाई सङ्गठित गर्दै अधिकारको पैरवी, आर्थिक सशक्तीकरण, नागरिक चेतना अभिवृद्धि, नेतृत्व विकासका माध्यमबाट स्थानीय सरकारका नीति, कार्यक्रम र बजेटमा आफ्ना सवाल सम्बोधन गर्न पहल गरिरहेका छन् ।
समूहले संयक्त रूपमा कार्ययोजना बनाएर जातिगत टोलका नाम परिवर्तन गर्ने नीति लिएको अध्यक्ष दियालीले बताईन । त्यसका लागि समूहले स्थानीय जनप्रतिनिधि र सरोकार भएकासँग संवाद गरेर जातीय विभाजनमा आधारित नामहरू परिवर्तन गर्दै समावेशी र सकारात्मक पहिचानबोध नाम राख्ने निष्कर्ष निकालेको उनले बताईन ।
त्यस क्षेत्रमा क्रियाशील विभिन्न निकाय, जनप्रतिनिधि, विशेषगरी वडा नम्बरं ५ कार्यालयले सहयोग गरेपछि नाम परिवर्तन सम्भव भएको सक्रिय महिला समूहकी अध्यक्ष जानकी भूलले बताईन । पछि बृहत् छलफल र घोषणासभा आयोजना गरी सबैको सहमतिमा टोलका नाम अनुमोदन गरिएको उनले बताइन् ।
नाम परिवर्तनबाट जातीय पहिचानका आधारमा हुने विभाजनलाई हटाउँदै सामाजिक सद्भावको उदाहरण प्रस्तुत गरिएको वडाध्यक्ष गणेशबहादुर भण्डारीले बताए । नाम भनेको पहिचान र आत्मसम्मानका आधार भएको बताउदै उनले नाम्मा आत्मसम्मान महसुस गरिएन भने तयसको अर्थ नहुने बताए ।
फेडोका केन्द्रीय महासचिव रेणु सिजापतिले डोटीको एउटा वडाबाट सुरू भएको अभियानले सकारात्मक सन्देश प्रवाह गरेकाले अन्य ठाउँमा पनि यसको विस्तार गरिने बताईन । यो समस्या डोटी, त्यहाँको एउटा वडाको मात्र नभई जिल्ला र देशभरिकै भएको बताउदै उनले यसबाट अरुले पनि सिक्नुपर्ने र त्यसका लागि फेडोले सहजीकरण गर्ने बताईन ।
‘कतिपय ठाउँमा डुम बाडा, कामी बाडा, दमाई बाडा र यस्तैयस्तै नाम अहिले पनि भएको अभियन्ता दुर्गा सोवले बताईन । विगतको पुस्ताले यसलाई सामान्य रूपमा लिए पनि अहिलेको पुस्ताले अपमान महसूस गरिरहेको बताउदै उनले आफ्नो ठाउँबारे गर्व महसुस नभएपछि कतिपयले थातथलो छाडेको गुनासो रेको सुनेको उनले बताईन ।
डोटीको एउटा वडाबाट सुरू भएको पहल सानो भए पनि यसले ठूलो सन्देश दिएको उनले बताईन । फेडोका संस्थापक अध्यक्ष सोवले थातथलो मात्र नभई दलित समुदायका कतिपय व्यक्तिले आफ्नो नाममै अपमान महसूस गरिरहेको बताईन ।
दलित समुदायका कतिपय व्यक्तिका नागरिकतामा फ्याउरो, सिँगाने, कुत्ता, कुकुर्नी, कुकुर, नौपुठे, ढाले, काली गासे, गोप्लो, लाटो, लुखुरी जस्ता नाम राखिएका बताउदै उनले सरकारले थरपरिबर्तनको ब्याबश्था गरेको बताईन । वि.सं.२०७९ साउन २३ गते सरकारले गृह मन्त्रालय मार्फत विज्ञप्ति जारी गरी नागरिकता सच्याउने ब्याबश्था गरेको उनले बताईन ।
बस्तीका नाम फेर्ने कुरा नागरिकता सच्याउने जस्तो ठूलो विषय नभए पनि अभियानलाई देशव्यापी बनाइने फेडोका केन्द्रीय अध्यक्ष कला स्वर्णकारले बताईन । ‘नाम मात्र होइन, त्यसमा पहिचान जोडिएको हुन्छ। पहिचान मानिसको सबैभन्दा ठूलो सम्पत्ति हो, तर यसैमा कसैले आत्मसम्मान महसूस गर्दैन भने त्यो राम्रो होईन उनले भनिन ।
त्यसैले डोटीमा दलितको अभियानमा गैरदलितले पनि समर्थन जनाए पछि अभियान सार्थक बन्दै गएको उनले बताईन । वडा अध्यक्ष भण्डारीले यस अभियानलाई वडा, गाउँपालिका हुँदै जिल्लाभर विस्तार गर्न आफूहरूको सहयोग गर्ने बताए ।
अबको पुस्ता जातले होइन, चेतनाले चिनिने बताउदै उनले त्यसका लागि वडाबाट सामाजिक रूपान्तरणको शुरुआत भएको बताए । नाम त परिवर्तन गर्यौँ, अब मन र व्यवहार पनि परिबर्तन गर्नु पर्छ । जातीय विभेदबाट मुक्ति पाउनु केवल दलित समुदायको सरोकारको कुरामात्र होइन, यो सामूहिक उत्तरदायित्व हो उनले भने ।
समस्या डोटीमा मात्र नभई देश भरी भए पनि सुदूरपश्चिममा बढी भएकाले गैरदलित बसोबास गर्ने ठाउँका नाम देवीदेउता, ऐतिहासिक पृष्ठभूमि र भूगोलको गौरबगाथासँग जोडेर राखिएका भए पनि दलित बस्तीका नाम संविधानले बर्जित गरेका शब्दलाई जातसँग जोडेर राखिएका छन् ।


