असोज १७ काठमाडौं । आगामी १६ मंसिरका लागि तय भएको स्थानीय तह उपनिर्वाचनमा भाग लिन २६ वटा दलले दर्ताका लागि निवेदन दिएका छन । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार संसद्का प्रमुख दलहरू कांग्रेस, एमाले र माओवादी सहितका विभिन्न २६ वटा दलले दर्ताका लागि निवेदन दिएका हुन ।
आयोगले १० असोज देखि बुधबारसम्म समय तोकेर दल दर्ताका लागि आवेदन खुलाएको थियो । जिल्ला समन्वय समिति प्रमुख दुई, नगरपालिकाका मेयर र उपमेयर एक–एक, गाउँपालिका अध्यक्ष दुई, गाउँपालिका उपाध्यक्ष तीन र ३० वडाध्यक्ष गरी ३९ पदका लागि निर्वाचन हुँदै छ । आयोगले यसअघि नै २ मंसिरमा उम्मेदवारी दर्ता सहितको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
कार्यतालिका अनुसार ३ मंसिरमा उम्मेदवार विरुद्ध उजुरी आह्वान, ५ मंसिरमा उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशन र निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ । मतदान सुरु हुनु भन्दा ४८ घण्टा अगाडिबाट १३ मंसिरको राति १२ बजेबाट मौन अवधि सुरु हुनेछ ।
निर्वाचन हुन लागेका ३९ वटा स्थानमा ०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा कांग्रेसले २४ स्थान, माओवादीले पाँच, एमालेले आठ, जसपाले एक र एक स्वतन्त्र उम्मेदवार निर्वाचित बनेका थिए ।
परिवर्तित राजनीतिक परिस्थितिमा हुन लागेको उपनिर्वाचनलाई दलहरूको शक्ति परीक्षणको रूपमा हेरिएको छ । निर्वाचनमा दलहरूलाई स्थानीय तहमा आफ्नो जनाधार जोगाउने चुनौती देखिएको छ ।


