धनगढी– प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत चालु आर्थिक बर्षमा धनगढी उपमहानगरपालिकाका एक सय २० जनाले रोजगारी पाएका छन् । उपमहानगरपालिकाका १९ वटै वडाका उक्त संख्याका ब्यक्तिहरुले रोजगारी पाएका हुन् । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत उपमहानगरपालिकामा १८ वटा योजना सञ्चालनमा रहेको रोजगार सहायक महेश मल्लले जानकारी दिए ।
कार्यक्रम अन्तरगत पक्की नाली निर्माण,खानेपानीको पाइप विस्तार,पर्यटन प्रबद्र्धनका लागि पार्कसेट निर्माण,बृक्षारोपण,सामुदायिक भवन निर्माण लगायतका कामहरु गरिँदै आएको उनले बताए । चालु आवमा रोजगारीका लागि एक हजार एक सय ९५ जनाले आवेदन दिएको उनले बताए ।
रोजगार कार्यक्रममा छनोट भएकालाई अधिकतम एक सय दिनको रोजगारी दिने गरिएको र प्रति दिन ६ सय ८० रुपैया ज्याला दिने गरिएको उनको भनाइ छ । कार्यक्रम सञ्चालनका लागि चालु आवमा विश्व बैंकबाट २२ लाख ९९ हजार र नेपाल सरकारबाट २६ लाख ७४ हजार बजेट प्राप्त भएको उनले बताए ।
कार्यक्रममा पिछडिएका,एकल महिला,कुनै पनि रोजगारी नभएका परिवारका सदस्यलाई प्राथमिता दिने गरिएको रोजगार सहायक मल्लले बताए । बेरोजगारका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम एकदमै प्रभावकारी भएको उनको दाबी छ । प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत विभिन्न दातृनिकायको सहयोगमा सीपमूलक तालिम समेत दिने गरिएको उनले बताए ।
नेपाल युथ फाउण्डेशनको सहकार्यमा ५२ जनालाई प्लम्बर र इलेक्टिसयनको तालिम दिइएको उनले बताए । त्यस्तै ४० जनालाई फर्निचर र वल्डिङको तालिम दिइएको उनले बताए ।


